काठमाडौं । सोमबार प्रकाशित नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति चित्रणमा गोलमाल देखिएको छ । खासगरी, विदेशी विनिमय सञ्चितिमा अमेरिकी डलर र नेपाली रुपैयाँको बीचमा तदम्यता देखिँदैन ।
अमेरिकी डलर हेर्दा वैशाखको तुलनामा जेठमा १७ करोड बढेको देखिए पनि नेपाली मुद्रामा भने करिब ३० अर्ब बढेको तथ्यांक प्रस्तुत गरेको छ । डलर १७ करोड मात्रै बढ्ने तर नेपाली रुपैयाँ ठूलो छलाङ किन मार्यो भन्ने विषय पेचिलो बनेको छ ।
केन्द्रीय बैंकले हरेक महिना देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै आएको छ । त्यही तथ्यांकलाई नै आर्थिक सूचकका मानक मानिँदै आएको छ ।
आर्थिक वृद्धि, रोगजारी सिर्जना, जनसंख्याजस्ता विषयलाई केन्द्रीय तथ्यांक विभागले पुष्टि गर्ने भए पनि त्यसबाहेकका अर्थतन्त्रसँग सम्बन्धित धेरै सूचकहरू केन्द्रीय बैंकको तथ्यांकमा निर्भर हुन्छन् । र, यो सामान्यतय विश्वभर नै प्रचलनमा छ ।
तर, नेपालमा केन्द्रीय बैंकले सार्वजनिक गर्ने तथ्यांकप्रति पटक–पटक प्रश्न उठ्दै आएको छ । र, पनि अरू विकल्प नभएपछि केन्द्रीय बैैंककै तथ्यांकलाई आधिकारिक मानेर अर्थतन्त्रका विषयमा धारणा बनाउने गरिन्छ । मुलुक श्रीलंकाको बाटोमा जान लागेको भनेर बनाइएको धारणा पनि केन्द्रीय बैंकको तथ्यांकअनुसार नै हो ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति घट्दै गएपछि मुलुक गम्भीर संकटमा पर्न लागेको भनेर ब्यापक टिकाटिप्पणी हुँदै आएको छ । तर, पछिल्लो पटक केन्द्रीय बैंकले सार्वजनिक गरेको वैशाख र जेठको तथ्यांक भिडाएर हेर्दा राष्ट्र बैंकका तथ्यांक माथि नै प्रश्न उठाउनुपर्ने स्थिति सिर्जना भएको हो ।
राष्ट्र बैंकका अनुसार २०७८ असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चितिमा १८ प्रतिशतले गिरावट आउँदै २०७९ वैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ कायम भएको देखाइएको छ । उता सोमबार मात्रै प्रकाशित गरेको जेठको तथ्यांकमा असारमा भएको कुल विदेशी विनिमय सञ्चितिमा १५ प्रतिशत ९ प्रतिशतले कमी आई २०७९ जेठमा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको उल्लेख छ ।
यसरी हेर्दा वैशाखबाट जेठमा आइपुग्दा २९ अर्ब ९६ करोड रुपैयाँले विदेशी विनिमय सञ्चितिमा सुधार आएको देखिन्छ । तर, अमेरिकी डलरमा भने नेपाली रुपैयाँको तुलनामा झन्डै एकतिहाइ कमले विदेशी विनिमय सञ्चिति भएको देखाउँछ ।
२०७८ असारमा ११ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेकोमा वैशाखमा ९ अर्ब २८ करोड डलरमा झरेको तथ्यांक छ । तर, जेठको तथ्यांकमा भने सञ्चिति वैशाखको तुलनामा बढेर ९ अर्ब ५४ करोड कायम भएको छ । यद्यपि, यो सञ्चिति गत असारको तुलनामा १९.६ प्रतिशत कम हो ।
समग्रतामा वैशाखमा भन्दा जेठमा १७ करोड डलर मात्रै बढेको देखिन्छ । यसबीचमा विनिमय दरमा शून्य दशमलव ९३ रुपैयाँले बढेको छ । वैशाखमा अमेरिकी डलर १ को खरिद विनिमय दर १२३.६३ रुपैयाँ छ । तर, जेठमा आइपुग्दा शून्य दशमलव ९३ बढेर १२४.५६ पुगेको छ ।
तर, केन्द्रीय बैंकले भने आफ्नो तथ्यांकलाई नेपाली मुद्रा घटाएर नेपाली मुद्रामै ३० अर्बको फरक देखाएको छ भने डलरको सञ्चितिमा विनिमयदरअनुसार नेपाली सञ्चिति भाग गरी बाँकी घटाएर १७ करोड देखाएको छ ।
सामान्य रुपमा १७ करोड डलरमा हुँदा त्यसको अनुपातमा नेपाली रुपैयाँ सञ्चिति देखिनुपर्ने हो । तर, विनिमय सञ्चितिकको आफ्नो व्याख्याले ठूलो अन्तर देखाएको छ ।