धनगढी- कैलाली प्रहरीले एकैदिन विभिन्न मुद्दाका सातजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जबरजस्तीकरणी मुद्दाका दुई जना, लागुऔषध मुद्दाका एक र चारजना वन मुद्दाका फरार प्रतिवादी रहेको कैलाली प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार जबरजस्तीकरणी मुद्दामा तीन वर्ष ११ महिना ५ दिन कैद सजाय सुनाइएका जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर १ का बिनोद चौधरी र ती वर्ष कैद सजाय सुनाइएका बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ का २२ वर्षीय अशोक चौधरी रहेका छन्।
प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार बिनोद २०७५ भाद्र २० गतेदेखि र अशोक २०७२ असार २१ बाट फरार रहेका थिए। लागुऔषध मुद्दामा जिल्ला अदालत कैलालीले पाँच सय रुपैयाँ जरिवाना तोकेकोमा २०६६ वैशाख १२ गतेदेखि फरार रहेका धनगढी उपमहानगरपालिका–१ का शत्रुजित जोशीसमेत पक्राउ परेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।
वन मुद्दाका फरार प्रतिवादीहरु धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का १८ वर्षीय अमन चौधरी, सोही ठाउँ बस्ने २९ वर्षीय कृष्ण राना, १८ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय बब्लु चौधरी पक्राउ परेको बिष्टले बताए।
उनीहरुविरुद्ध साउन २८ गते गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा बिना इजाजत वन पैदावार ओसारपसार गरेको अभियोगमा डिभिजन वन कार्यालय कैलालीले मुद्दा दायर गरी जिल्ला अदालतबाट पक्राउ अनुमती दिइएको थियो।