काठमाडौं। गत शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राखेको प्रि–बजेट छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भन्दै थिए, ‘यस्ताखाले कार्यक्रममा नआई पनि नहुने। आएर कार्यक्रम नसकिन्जेल बस्न पनि नसक्ने अवस्था छ।’
अर्थमन्त्रीको यो भनाइबाट के प्रस्ट हुन्छ भने ‘नजाँदा आयोजक रिसाउने, जाँदा पूरै समय बस्न नसक्ने र उपलब्धि पनि नहुने’।
अहिले हरेक कार्यक्रममा अर्थमन्त्री अनुहार देखाउन मात्रै पुग्छन्। यसको कुनै अर्थ छैन।
बजेट निर्माणमा अहोरात्र लाग्नुपर्ने बेला विभिन्न संघ–संस्थाले राखेका विभिन्न कार्यक्रममा सहभागी भए पनि त्यसले बजेट निर्माणमा कुनै योगदान गरेको छैन। अर्थमन्त्रीको ‘नाइँ’ भन्न नजान्ने स्वभावका कारण हरेक कार्यक्रममा पुग्ने, पुग्नेबित्तिकै आफ्नो भनाइ राख्ने त्यहाँबाट अर्को कार्यक्रममा लाग्ने गर्छन्।
यसरी गरिने कार्यक्रमले न कुशल बजेट निर्माणलाई योगदान गर्छ, न त अर्थमन्त्री पूर्ण केन्द्रित भएर बजेट बनाउन सक्छन्। अधिकांश औपचारिक कार्यक्रममा सहभागी हुँदैमा उनको दैनिकी बित्छ।

व्यावसायिक हरेक संघसंस्था कार्यक्रम राख्छन्। बजेटका बेला राखिएको कार्यक्रममा नजाँदा अर्को सन्देश जाने भएकाले अर्थमन्त्री सहभागी हुन मात्रै पुग्छन्।
सेजनकै कार्यक्रममा अर्थमन्त्री पौडेल भन्दै थिए, ‘आफू त सोह्रश्राद्धको पण्डितजस्तो भइएको छ। न कार्यक्रमभर बसेर त्यहाँ उठेको विषयवस्तु बजेटमा समावेश गर्न सक्छु, न त कार्यक्रममै नजान सक्छु।’
हरेक कार्यक्रममा अर्थमन्त्री पौडेल एक्लै सहभागी हुन्छन्। उनले मन्त्रालयतर्फका कुनै पनि आधिकारिक व्यक्ति लगेका हुँदैनन्, जसले कार्यक्रममा उठेका विषयवस्तुको संग्रह गरेर बजेटमा समावेश गरोस्।
उनी एउटा कार्यक्रममा आफ्नो सानो मन्तव्य राख्छन् र अर्को कार्यक्रममा लागि दौडिन्छन्। ‘यदि मन्त्रालयका सहसचिव तथा उपसचिव तथा अन्य आधिकारिक व्यक्ति हरेक कार्यक्रममा लिएर जाने गरेको र तिनले कार्यक्रममा दौरानमा उठेका विषयवस्तुलाई टिपेर बजेट लेखन समितिलाई दिए पो उपलब्धिमूलक हुन्छ,’ अर्थविद् नरबहादुर थापा भन्छन्, ‘बजारमा भएका छलफललाई बजेटमा उल्लेख गर्ने उद्देश्य भए त अर्थको केही प्रतिनिधि सँगै हिड्नुपर्र्छ। अर्थमन्त्री कार्यक्रमका बीचमै बोलेर बाहिरिए पनि ती प्रतिनिधिले टिपेर हरेक दिन बुझाउनुपर्छ। तब मात्रै कार्यक्रमले सार्थकता पाउँछ।’
अहिले दैनिक ५ देखि ६ वटा कार्यक्रममा अर्थमन्त्री सहभागी हुन्छन्। अझ सचिवालयले दर्जनौं कार्यक्रम त रद्द गर्छ। त्यति गर्दा पनि अर्थमन्त्रीकाे दैनिक धपेडी धेरै हुने गरेकाे छ।
‘नगई नहुने कार्यक्रम राख्दा पनि सूची लामो भइरहेको छ। सुझाव दिनेलाई त मन्त्रालयमै बोलाइरहेका हुन्छाैं,’ अर्थमन्त्रीको सचिवालयका एक अधिकारीले भने, ‘रोक्ने भनेर कार्यक्रममै नजाँदा पनि त्यसको नकारात्मक सन्देश जान्छ। त्यो पनि गर्न भएन।’
केही दिनअघि बिजमाण्डूले आयोजना गरेको प्रि–बजेट कार्यक्रममा अर्थमन्त्री पुग्दा पूर्वअर्थमन्त्री प्रकाशशरण महत, सुरेन्द्र पाण्डे र वर्षमान पुनको सेसन चलिरहेको थियो। हतारोका कारण सेसनलाई छोट्याएर बीचमै अर्थमन्त्रीलाई समय दिइयो। अर्थमन्त्रीले बोलेर सक्नेबित्तिकै कार्यक्रमबाट बिदा मागे।
जबकि, त्यो कार्यक्रममा आयोजकले अर्थविद् महेश आचार्यको की–नोट सुनाउने कार्यक्रम राखेका थिए।
त्यसैगरी केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री आधा घन्टा पनि बसेनन्। अर्थमन्त्री कार्यक्रममा आफ्नो उपस्थिति जनाउन मात्रै सहभागी भइरहेका छन्।