काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिना नेपालले २ खर्ब ९८ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ ।
राष्ट्र बैंकको वित्तीय विवरण हेर्दा २०७८ साउनदेखि जेठसम्मको अवधिमा कुल २ खर्ब ९२ अर्ब ७७ करोड रुपैयाँको पेट्रोलियम पदार्थ नेपालले आयात गरेको देखिन्छ ।
गत वर्ष यसै अवधिमा १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपालले आयात भएको थियो । गत वर्षको तुलनामा चालू आवको ११ महिनामा १ खर्ब ३७ अर्ब बढीको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।
गत वर्ष यसै अवधिमा कुल १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएकामा यो वर्षको ११ महिनामा १७ खर्ब ६३ अर्बको आयात भएको छ । गत वर्षको तुलनामा चालू आवको ११ महिनामा आयात २७.५ प्रतिशतले बढेको छ । त्यस्तै, गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात ८२ प्रतिशत बढेको छ ।
जेठ मसान्तसम्ममा कुल १७ खर्ब ६३ अर्बको वस्तु आयात भएकोमा पेट्रोलियम पदार्थ मात्र २ खर्ब ९२ अर्ब रुपैयाँको भित्रिएको देखिन्छ । जुन कुल आयातको १६ दशमलव ६ प्रतिशत हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले पनि पेट्रोलियम पदार्थको आयात उच्च देखिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा २०७८ जेठ मसान्तमा प्रतिब्यारल अमेरिकी डलर ७२.२७ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७९ जेठ मसान्तमा ७५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १२७.०२ पुगेको छ । जसले गर्दा देशको आयातसमेत प्रभावित भएको बताइएको छ ।
चालू आवको पहिलो महिना साउनमा १६ अर्ब २१ करोड रुपैयाँको पेट्रोलियम प्रदार्थ आयात भएको छ । साथै, भदौसम्ममा ३४ अर्ब १८ करोड, असोजसम्म ५४ अर्ब १ करोड, कात्तिकसम्ममा ७८ अर्ब १६ करोड, मंसिरसम्ममा १ खर्ब ६ अर्ब, पुससम्ममा १ खर्ब ३२ अर्बको, माघसम्ममा १ खर्ब ५५ अर्बको फागुनसम्ममा १ खर्ब ८५ अर्बको र चैत मसान्तसम्ममा २ खर्ब १८ अर्ब ३५ करोडको, बैशाखमा २ खर्ब ५३ अर्ब र जेठमा २ खर्ब ९२ अर्बको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको राष्ट्र बैंकको वित्तीय विवरणले देखाउँछ ।