काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा मूल्यवृद्धि कम हुने अवस्था नरहेको बताएका छन् । गभर्नर अधिकारीले संसदको अर्थसमितिमा सोमबार भएको आगामी आवको मौद्रिक नीतिका विषयमाथि छलफलका क्रममा सो कुरा बताएका हुन् ।
उनले अहिलेको अवस्थामा अधिकांश मुलुकको जस्तै नेपालमा पनि मूल्यवृद्धिको चाप रहेकाले त्यसलाई कम गर्न नसकिने बताएका छन् । वैशाखसम्ममा नेपालको मूल्यवृद्धि ७.८९ प्रतिशत रहेको जुन कम गर्न अवस्था नभएको अधिकारीले बताए ।
‘मूल्य वृद्धिलाई कम गर्न ब्याजदर बढाउने, पोलिसीहरु बनाउने र मूल्यलाई नियन्त्रण गर्ने प्रयास अधिकांश मुलुकहरुले गरिरहेका छन्,’ उनले भने, ‘नेपाललाई पनि मूल्यवृद्धिमा चाप परेको छ । इन्धनको मूल्य ८० प्रतिशतले बढेको देखिन्छ । जसले गर्दा अहिलेसम्मको अवस्था मूल्यवृद्धि तल झर्ने देखिएको छैन ।’
उनले वाह्य क्षेत्र चापको कारणले मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएको बताए । हाल ९.२८ अर्बको विदेशी मुद्रा सञ्चिति रहेको र त्यसले साढे ६ महिनाको वस्तु तथा सेवा दुवै धान्न सक्ने अवस्था रहेको उनले स्पष्ट पारे ।
सीमित समूहले मात्रै कर्जा लिँदा अर्थतन्त्रमा एक खालको जोखिम निम्त्याउन सक्ने उनको भनाइ छ । कुनै एउटा व्यावसायिक घराना डुब्दैमा अर्थतन्त्रलाई असर नपर्ने स्थिति सिर्जना गर्नुपर्छ, उनले भने ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि अत्याधिक रुपमा बढेकाले हाम्रो चालू आवमा साढे ६ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा बाहिर जाने अवस्था रहेको गभर्नर अधिकारीको भनाइ छ ।