काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरुलाई आफू संसदीय सुनुवाइ सुरु भएको १० औं दिनमा फर्किएर आउने भन्दै सचेत भएर काम गर्न दबाब दिएका छन् ।
मन्त्रालय स्रोतका अनुसार आफूले सुरु गरेका कुनै पनि कामलाई नचलाउन र आफूविरुद्ध कदम नचाल्न कर्मचारीहरुलाई दबाब दिएका हुन् । यसअघि शर्माले आफूविरुद्ध बोल्ने राजनीतिक दलका नेताहरुको यथास्थितिका (गलत काममा छन्-छैनन् भन्ने) विवरण खोजबिन गरेका थिए ।
आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा जेठ १४ गते अनधिकृत व्यक्ति भित्रिएको विषयमा गत सोमबार विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को रोस्ट्रमबाट तत्काल अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राखेका थिए । लगत्तै संसदबाट बाहिरिने क्रममा नेपाली कांग्रेसका महामन्त्री तथा सांसदसमेत रहेका पूर्वस्वास्थ्यमन्त्री गगन थापाले ओलीको भनाइलाई समर्थन गर्दै शर्माले राजीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने बताएका थिए ।
गगनको आक्रोशलाई कैंची लगाउन सकिन्छ कि भनी अर्थमन्त्री शर्माले सामसुम भइसकेको बाख्रा पालनको इस्यू ब्युँत्याउन खोजेका थिए । त्यसका लागि कृषिसचिव डा. गोविन्दप्रसाद शर्मालाई फोन गरेर गगनले बाख्रा पालनका नाममा लिएको अनुदानको पूर्ण विवरण पठाउन भनेका थिए ।
अर्थमन्त्रीको शर्माले गगनले अनुदान लिए/नलिएको पत्ता लगाउन आफ्ना संयन्त्रलाई निर्देशन दिएका थिए । संयन्त्रले गगनले अनुदान लिएको नभेटिएपछि अर्थमन्त्रीलाई कृषिसचिव शर्माले अनुदान लिएको फेला नपरेको रिपोर्टिङ गरेका थिए ।
थापा एउटा उदाहरण मात्रै हुन् । अर्थमन्त्री शर्माको विकृतिविरुद्ध आवाज उठाउने उद्योगी/व्यवसायी, राजनीतिक दलका कार्यकर्तादेखि पत्रकारसम्मको यथास्थिति खोज्न आफूमातहका सम्बन्धित पक्षलाई भनेका थिए । उनीहरुविरुद्ध प्रमाण भेटिएमा कारबाही गर्न सजिलो हुने भन्दै अर्थमन्त्री शर्माले पदीय दुरुपयोग गर्दै कर्मचारीलाई परिचालन गरेका थिए ।
संसदीय छानबिन समितिले कर्मचारीहरुसँग बयान लिने र वास्तविक चित्र बाहिर आउने भयले निवर्तमान अर्थमन्त्री शर्माले कर्मचारीहरुलाई आफू १० दिनपछि नै काममा फर्किने भएकाले सम्हालिएर अघि बढ्न भनेका हुन् । निर्वतमान अर्थमन्त्री शर्माको धम्कीपूर्ण अभिव्यक्तिका कारण कर्मचारीहरुमा एक खालको त्रास सिर्जना मात्रै भएको छैन, संसदीय छानबिन समितिले यथेष्ट प्रमाण भेट्न पनि गाह्रो हुने स्थिति सिर्जना भएको छ ।
त्यति मात्रै होइन, बजारमा आगामी आवको बजेट बनाउँदा करमा हेरफेर गरेबापत ६ अर्ब रुपैयाँको डिल भएको र त्यसको केही हिस्सा प्रमुख विपक्षीलाई दिएर भए पनि घटना सामसुम पार्ने र आफू मन्त्रालयमा फर्किने बाटो खोल्ने तयारी गरिरहेको अर्थका कर्मचारीहरुको भनाइ छ ।
तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री आफूमातहत राख्नुको मूल कारण पनि शर्मालाई अर्थमा फेरि फर्काउने मनसाय रहेको कर्मचारीहरुको दाबी छ ।
‘प्रधानमन्त्री देउवाले अर्थसचिव मधुकुमार मरासिनीलाई निरन्तरता दिनुको एउटा कारण यो पनि हो,’ अर्थका एक सहसचिवले भने, ‘यसअघि सामसुम बजेट पारित भएसँगै कर हेरफेर गर्दा प्राप्त हुने हिस्सा विपक्षीसम्म नपुगेपछि फेरि उचालिएको हो ।’
जेठ १४ को घटना बाहिर आएसँगै प्रमुख विपक्षीले प्रतिनिधिसभामा सामान्य विरोध गर्दै अर्थमन्त्रीको भाषणका बेला आफूहरु बाहिरिएर बजेट पास गर्न सघाएका थिए । त्यति बेला घटनालाई सामसुम पार्न बिचौलियाको प्रयोग पनि भएको थियाे । जसमा विपक्षी नेता ओलीसमेत मौन थिए । तर, बजेट पास भइसकेपछि एकाएक विषय मोडेर आक्रामक रुपमा विपक्षी नेता ओली संसद्मा प्रस्तुत भए । त्यसलाई सत्तारुढ दलकै नेताहरुले समर्थन गरे । र, शर्माविरुद्ध छानबिन गर्न गत बुधबार ११ सदस्यीय विशेष छानबिन समिति बन्यो । सोही दिन शर्माले प्रतिनिधिसभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरे ।
मुख्य आरोपी शर्माले राजीनामा दिए पनि बुधबार अर्थमन्त्री कार्यालय आउँदासम्म आफू मन्त्रालय नफर्किने भन्दै बिदा बसेका अर्थसचिव मरासिनी पनि बिहीबारै कार्यालय फर्किएका थिए । अर्थमन्त्रीको मतियारका रुपमा सक्रिय रहेका मरासिनीलाई जोगाउन प्रधानमन्त्री देउवा र मुख्यसचिव शंकरदास वैरागी नै लागिपरेका छन् । यसले गर्दा आगामी दिनमा गलत क्रियाकलापमा सहभागी हुने कर्मचारीहरु पनि सहजै उम्किन सक्ने देखिन्छ ।