काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित ९ जना कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर १५ को रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको उजुरी परेको थियो । सोहि उजुरीमा अनुसन्धान हुँदा ९ जना पदाधिकारी व्यक्तिहरुले गैरकानुनी लाभ तथा हानी र्पुयाई भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका अनुसार विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सब–इन्जिनियर मो। इफतेखार आलमले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी विवरण नापी किताबमा चढाई अनियमितता गरेको पाइएको हो ।
उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको हो ।
उनीहरुले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट काम नभए÷नगरेको कार्यसमेत नापी किताबमा चढाई उपभोक्ता समितिसँगको सम्झौता अनुसारका निर्धारित सर्त तथा मापदण्ड विपरीत माटो फिलिङ्गको कार्य रोलर मेसिनद्वारा गराएर ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेश गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो कागजातहरु स्वीकृत गरी भुक्तानीसमेत दिएको आरोप लागेको छ ।
आयोगले उक्त नियमविपरीत कार्य गरी १० लाख ५५ हजार ९७९.४८ रुपैयाँ सरकारी पैसा भ्रष्टचार गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार एकदेव अधिकारी, गोपाल पोखरेल, पुष्पक प्रधान र मो. इफतेखार आलमलाई बिगो १० लाख ५५ हजार ९७९.४८ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपरको मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।
पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेले वास्तविक कार्यभन्दा बढी कार्यलाई समेत भए गरेको भनी साथै ज्यामीद्वारा काम गराउने गरी तयार भएको लागत अनुमान अनुसार महानगरपालिकासँग गरेको सम्झौताविपरीत रोलर मेसिनको प्रयोग गरी माटो फिलिङ्गको कार्य सम्पन्न गरेको तर उक्त मेसिनले गरेको कार्यलाई ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले झुट्टा डोरहाजिर, झुट्टा नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी उक्त कागजातहरू नगर कार्यपालिकाको कार्यालयमा पेस गरी भुक्तानीसमेत लिई १० लाख ५५ हजार ९७९.४८ रुपैयाँ सरकारी रकम हानि र्पुयाएको पाइएको छ । सोविरुद्ध आयोगल भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार निजहरुलाई १० लाख ५५ हजार ९७९.४८ रुपैयाँ बिगो कायम गरी सो रकमलाई बिगो कायम गरी बिगो बमोजिम जरिवाना र बिगोसमेत जफत हुने मागदाबी गरेको छ ।
विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की र विराटनगर महानगरपालिका वडा नं. १५ का तत्कालीन वडा अध्यक्ष असलम आलमले माटो फिलिङ्ग गर्ने कार्य ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भई उपभोक्ता समितिसँग सम्झौता भएको कुरामा जानकार रहेको तथा ज्यामीद्वारा गर्नुपर्ने सो कार्य रोलर मेसिन उपलब्ध गराई रोलर मेसिनद्वारा गरेको कुरामा समेत जानकार भएतापनि अनुगमन प्रतिवेदनमा सो कुरा उल्लेख नगरी मेसिनद्वारा गरेको माटो फिलिङ्गको कार्यलाई ज्यामीद्वारा गरेको भनी तयार गरिएको गलत मूल्याङ्कनको आधारमा पोखरीमा पार्क निर्माण कार्यको मूल्याङ्कन जाँचपास तथा फरफारखको लागि योजना अनुगमन समितिको बैठक बसी निर्णयसमेत गरी ५ लाख ८ हजार ६६९.८८ रुपैयाँ हानी र्पुयाएको पाइएको छ । निजहरुलाई सोही रकम बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपरको मागदाबी गरेको छ ।