काठमाडाैं। आइतबार सेयर बजार केही घटेको छ । यस दिन नेप्से सूचक ११.५३ विन्दुले घटेर २६५०.११ अंकमा अडिएको छ । १० अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम औसतमा रहेको छ । अहिले नेप्से २६ को लेबलमा रहेको नेप्से लामो समयदेखि साइडवेज प्रवृत्तिमा चलिरहेको छ । २५ सयको तहबाट तल झर्न नमानेको बजार धेरै माथि जान पनि सकेको छैन ।
अब बजारले एक लेबलको छलाङ मार्नका लागि कुनै सकारात्मक खबर खोजिरहेको देखिन्छ । अबका सम्भावित यस्ता खबरमा गभर्नर नियुक्ति वा नयाँ बजेट हुन सक्ने लगानीकर्ताहरुले विश्लेषण गरिरहेको देखिन्छ ।
त्यसो त अहिलको तयारी अनुसार काम भएमा वा फेरि अर्को घटनाक्रम विकास नभएमा अर्थशस्त्री विश्व पौडेल नयाँ गभर्नर नियुक्त हुनेछन् । उनी खुला अर्थतन्त्रमा विश्वास गर्ने निजी क्षेत्रमैत्र व्यक्ति भएकाले समग्रमा बजारले सकारात्मकरुपमा लिने विश्लेषणहरु पनि भइरहेका छन् ।
समग्र अर्थतन्त्र मन्दीमा रहेका बेला निजी क्षेत्रले अलि उदार किसिमकै गभर्नर खोजिरहेको छ । सेयर बजारमा पनि तुलनात्मकरुपमा सहज नीति लिने गभर्नर आउँछन् कि आउँदैनन् भन्ने लामो समयदेखि निकै चासो रहेको पाइन्छ । केन्द्रीय बैंकले लिने मौद्रिक नीतिहरुको पुँजी बजारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले लगानीकर्ताहरुले यो गभर्नर नियुक्ति प्रकरणलाई निकै गम्भीररुपमा लिएको देखिन्छ ।
यता, महिनौंदेखि लगातार ब्याजदर घटिरहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । सरकार पनि सेयर बजारप्रति सकारात्मक रहेको छ । यति हुँदा पनि बजारले गति लिन सकेको छैन । करिब ९ महिनादेखि बजार साइडवेजमा चलेको छ , गत साउनमा कायम भएको नेप्से सूचक र कारोबार रकमलाई अहिलेसम्म बजारले भेटउन सकेको छैन ।
समयका हिसाबले बजारले निकै लामो साइडवेज चरण बिताइसकेको देखिन्छ । बारम्बार बजार २५ सयको तहबाट माथितिरै फर्किने गरेको छ । यसआधारमा उक्त तहबाट तल जान नमानिरहेको जस्तो देखिन्छ । यसआधारमा नेप्सेले माथितिरै जाने प्रयास गरिरहेको जानकारहरुको बुझाई छ । तर यसका लागि केही गुड न्यूजको पर्खाईमा बजारमा रहेको पाइन्छ ।
त्यसो त हाम्रो बजारमा सबै अन्तर्राष्ट्रिय अभ्यासमा रहेका सबै टुल्सहरु प्रयोगमा छैनन् । सूचकको कारोबार हुँदैन । इन्ट्रा डे कारोबार पनि छैन । विदेशी लगानीकर्ता खुला गरिएको छैन । संस्थागत लगानीकर्ताहरुको उपस्थिति निकै कमजोर छ । यी कारणहरुले हाम्रो सेयर बजार जहिले पनि निश्चित अवधिको बुल र बियरको चक्रमा हिँड्ने गरेको छ ।
यसअघि बजारले लामो समयको बियरिस यात्रा पार गरिसकेको छ । यसआधारमा पनि अब बजार बुल रनमै जानेमा अनुभवी लगानीकर्ताहरु विश्वस्त रहेको पाइन्छ । तथापि, सेयर बजारका बारेमा ठोकुवा गर्न सकिंदैन र हुँदैन पनि ।
तर विगतक अनुभव, बजारको अहिलेको अवस्था, आगामी दिनहरुको सम्भावना, नीति, नियामक र सरकारको भूमिका लगायत अरु केही ठोस तथ्यहरुका आधारमा अनुमान लगाउन भने सकिन्छ । यिनै आधारमा धेरैले बजारमा यतिबेला सकारात्मक सम्भावनाको धारणाहरु अघि सारेका हुन् ।
यसैगरी, सेयर बजारमा सूचीकृत कम्पनीहरुको मुनाफा, लाभांश वितरण क्षमताको पनि निकै महत्वपूर्ण भूमिका रहने गर्छ । यसका साथै, अर्को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको माग र आपूर्ति पक्ष हो । बजार माथि जान, लार्ज क्याप वा फन्डामेन्टल कम्पनीहरु चल्नका लागि माग पक्ष निकै सबल हुनुपर्छ ।
यसका लागि बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुनुपर्छ भने पुरानाको क्रय क्षमता पनि वृद्धि हुनुपर्छ । यसो हुन सकेमा मात्र माग पक्ष बलियो हुन्छ । डिमान्ड साइड सबल हुने बित्तिकै मूल्य बढ्न सहयोग गर्छ, जसले नेप्सेलाई माथितिर लैजान सक्छ ।
त्यसो त समग्र बजार तथा सूचक बढ्न नसके पनि कतिपय कम्पनीहरुको भाउमा भने अहिले पनि राम्रो वृद्धि देखिएको छ । केही सेक्टर र निश्चित कम्पनीहरुमा राम्रो बुल आइरहेको देखिन्छ । सबै समूह एकसाथ बढ्न नसके पनि पालैपालो बढ्ने संकेतहरु पनि देखिएका छन् ।
यस दिन ३ सय कम्पनीको २ करोड ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र युनिभर्सल पावर परेका छन् ।