काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रश्न तेर्साएका छन्।
उनले पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई सत्ता नहुँदा पीडा र छटपटी बढेको भन्दै सरकारका उपलब्धिको सूची देखाएका हुन्। प्रचण्डले सरकार डरले रुझेको बिरालो जस्तै बनेको अभिव्यक्ति दिएका थिए।
यसको जवाफ दिँदै महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि राम्रो काम गरेको भन्दै १२ बुँदे उपलब्धि पेश गरेका हुन्।
उनले भने, ‘प्रचण्ड जी, के बोल्दै हुनुहुन्छ?, तपाईं प्रधानमन्त्री हुँदाभन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ, विदेशी मुद्राको संचिति बढेको छ, सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ।’
यस्तै, उनले निर्माण व्यावसायीलाई काम बापतको भुक्तानी प्रदान गरिएको, भूकम्प तथा बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको, बैंकको तरलता वृद्धि भएको छ, ब्याजदर घटेकोदेखि लगानी वृद्धि हुन थालेको छ बताए।
साथै, पोखरेलले कानून निर्माणको कामले तीव्रता पाएको बताउँदै कानुनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको दाबी गरे।
भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको र सरकारको स्थायित्वको आधार तयार पारेको उनको भनाइ थियो।