काठमाडौं। सत्ता साझेदारी दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा सहमति जुटेको छ। कांगेसको भागमा परेको १८औँ गभर्नरमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको ‘कमन क्याण्डिडेट’ डा. विश्वनाथ पौडेल भएका हुन्।
कांग्रेस सभापति देउवाले गभर्नरका लागि अघि सारेका ‘क्याण्डिडेट’को विकल्प खोजेपछि कांग्रेसी कोटाबाटै २०७८ साउनमा योजना आयोगका उपाध्यक्षसमेत बनेका डा. विश्वनाथ पौडेलको नाम प्रधानमन्त्री ओलीलाई बिहीबारको भेटमा प्रस्ताव गरेका थिए। देउवाद्वरा प्रस्तावित नाममा प्रधानमन्त्री ओलीले समेत सहमति जनाएका थिए।
डा. पौडेल राष्ट्र बैंक ऐनअनुसार सरकारले फागुन २२ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठन गरेको गभर्नर छनाेट सिफारिस समितिको विज्ञ सदस्यका रुपमा रहेका छन्।
ऐनले एक जना पूर्वगभर्नर र एक जना आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा प्रतिष्ठित व्यक्ति विज्ञ सदस्य हुनुपर्ने उल्लेख गरेको छ। जसअनुसार सरकारले पूर्वगभर्नर विश्वनाथ भट्टराई र डा. विश्व पौडेललाई छनाेट सिफारिस समितिमा नियुक्त गरेको थियो। तर, भट्टराईले सदस्यबाट राजीनामा दिएसँगै सरकाले पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई समिति सदस्य नियुक्त गरिसकेको छ।
प्रधानमन्त्री ओलीले नेपालमा पहिलो महिला गभर्नर बनाएर इतिहास रच्ने भन्दै कामु गभर्नरलाई क्याण्डिडेटका रुपमा उभ्याएका थिए।
कांग्रेसले राष्ट्र बैंकको गभर्नर आफ्नो क्याण्डिडेट बनाउने भन्दै अन्य सार्वजनिक नियुक्ति एमालेको भागमा दिइसकेको छ। कांग्रेस सभापति देउवाले आफूनिकट राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई १८औँ गभर्नर बनाउने चाहन्थ्ये।
एक महिनायता कांग्रेसले अघि सारेको गभर्नरको क्याण्डिडेट कार्यकारी निर्देशक डा. भट्टको राजीनामा कायम मुकायम गभर्नर डा. निलम तिमल्सिना ढुंगानाले स्वीकृत नगरेपछि अर्को क्याण्डिडेट अघि सारिएको हो। कांग्रेसको कोटाबाट छनौट समितिका विज्ञ सदस्य पौडेल १८औँ गभर्नरमा ‘पक्कापक्की’ भएको हो।
प्रधानमन्त्री ओलीले नेपालमा पहिलो महिला गभर्नर बनाएर इतिहास रच्ने भन्दै कामु गभर्नरलाई क्याण्डिडेटका रुपमा उभ्याएका थिए। कामु गभर्नरको आकांक्षा पनि १८औँ गभर्नर बन्ने थियो। सोहीअनुसार उनी लबिङमा राजनीतिक दलका नेताको दैलो चहारिरहेकी छन्।
वैशाख ३ गते प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको सहमतिअनुसार देउवाले डा. भट्टलाई पदबाट राजीनामा दिन सुझाए थिएका थिए। त्यसपछि भट्टले वैशाख ५ गते पदबाट राजीानामा दिएका थिए। तर, एमाले निकट कामु गभर्नर ढुंगानाले उनको राजीनामा स्वीकृति गरेकी छैनन्।
सत्ता साझेदार दलहरूबीच सहमति भएको गभर्नरका क्याण्डिडेटलाई कामु गभर्नर ढुंगानाले विरोध जनाएपछि प्रधानमन्त्री ओलीले बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको भेटवार्तामा अर्को क्याण्डिडेट मागेका थिए।
‘तपाईहरूको चाहिँ भट्टबाहेक गभर्नर बन्न लाइकको कोही छैन? उहाँबाहेक अर्को कोही व्यक्ति भए नाम सिफारिस गर्नुस्,’ भेटमा ओलीमो भनाइ उदृत गर्दै कांग्रेसका एक नेताले भने।
उक्त समय देउवाले डा. समिर खतिवडा, ज्ञानेन्द्रप्रसाद ढुंगाना, अंगराज तिमल्सिना र डा. पौडेलको नाम गभर्नरको सम्भावित क्याण्डिडेटमा सिफारिस गरेका थिए। यीमध्येबाट प्रधानमन्त्री ओलीले छनाेट समितिको सदस्य रहेका डा. पौडेल उपयुक्त रहने सुझाएका थिए।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उपस्थित कांग्रेस र एमालेका शीर्ष नेताले डा. पौडेललाई गभर्नर बनाउन सभापति देउवालाई सिफारिस गरेका थिए।
प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तमा विकल्प मागेको र डा. पौडेलको नाममा सहमति जनाएपछि शुक्रबार बिहान बूढानीलकण्ठस्थित देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो।
उक्त बैठकमा समेत डा. भट्टको राजीनामा आइतबार स्वीकृत नभए अर्को नाम पठाउने निर्णय भएको थियो। कांग्रेसले भट्टको राजीनामा स्वीकृतिलाई प्राथमिकतामा राख्दै विकल्पमा अर्को क्याण्डिडेट डा. पौडेल हुने निर्णय गरेको हो।
त्यसपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उपस्थित कांग्रेस र एमालेका शीर्ष नेताले डा. पौडेललाई गभर्नर बनाउन सभापति देउवालाई सिफारिस गरेका थिए।
यसरी एमाले र कांग्रेसकै साझा गभर्नर क्याण्डिडेटका रुपमा इन्ट्री भएका डा. पौडेलले सम्भवत आइतबार साँझसम्म छनौट सिफारिस समितिबाट राजीनामा दिने छन्। उनले राजीानामा दिएपछि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गरी विज्ञ सदस्यमा नयाँ व्यक्ति नियुक्त गर्नेछ।
छनाेट सिफारिसले पूर्णता पाएसँगै पौडेल, एक डेपुटी गभर्नर र अर्का व्यक्तिको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस हुनेछ। उल्लेखित प्रक्रियामा कुनै अवरोध नआएमा आगामी बिहीबारसम्म राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त हुने पक्का देखिन्छ।
योजना आयोगका पूर्वउपाध्यक्ष डा. पौडेले काठमाडौं विश्वविद्यालयका प्रोफेसर हुन्। अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त उनीसँग अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ।