काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सत्ता/प्रतिपक्ष दलका सांसदहरुले आन्दोलनमा रहेका शिक्षकका जायज माग पूरा गर्न सरकारसँग माग गरेका छन्।
आजको बैठक सुरु हुनासाथ विपक्षी सांसदको विरोधपछि सभामुख देवराज घिमिरेले नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए।
सांसद पाण्डेले संसद्मा सोमबार दर्ता जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए। शिक्षकहरु लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरुका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो।
उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको दाबी गरे। शिक्षकसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुंगाउन आवश्यक रहेको उनले बताए।
‘सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ’, बेलुकीसम्म निकास निस्कनेमा आशावादी छु’, उनले भने।
सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिन माग गरे।
सांसद शोभा ज्ञवालीले देशका विभिन्न भागमा जंगङ्गली जनावरको आक्रमण बढेकामा चिन्ता व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
अर्का सांसद ज्ञानबहादुर शाहीले आन्दोलनरत शिक्षकका समस्या समाधानका लागि गम्भीर हुन सरकारलाई आग्रह गरे।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत हुनेछ।
कार्यसूचीअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्। उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत हुनेछ।