काठमाडौं। नेपाल राष्ट्र बैंकका १७ औँ गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम नियामकीय कारावाही नेपाल बैंक लिमिटेडलाई गरेका छन्।
अधिकारीले आफ्नो कार्यकाल समाप्त हुनु २ दिनअघि अर्थात गत चैत्र २२ गते बिहान बसेको सञ्चालक समिति बैठक डाकेर नेपाल बैंकका संचालक डा. चन्द्र बहादुर अधिकारीलाई कारवाही गर्ने निर्णय गरेका हुन्।
संचालक अधिकारीले ऋण प्रवाहमा अनियमितता गरेको भन्दै गत वर्ष नै राष्ट्र बैंकमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा वाणिज्य बैंक सुपरिवेक्षण विभागले गत वर्षको चौथो त्रैमासिकमा लक्षित स्थल निरीक्षण गरेको थियो। साथै, विभागले बैंकमा २ पटक विशेष निरीक्षणसमेत गरेको थियो।
उक्त समयमा डा. अधिकारी नेपाल बैंकको अध्यक्ष थिए। उनी २०८० असोजमा नेपाल बैंकका अध्यक्ष नियुक्त भएका हुन्। बैंकको अध्यक्षले कर्जा प्रवाहमा सोझै हस्तक्षेप गर्दै स्यम ब्याजदर निर्धारण गरी कर्जा दिने प्रतिवद्धतासहित अग्रिम कमिशन लिएको भन्दै राष्ट्र बैंकमा ऋणीले उजुरी दिएको थिए।
सोही उजुरीको आधारमा तत्कालिन गभर्नर अधिकारीले विशेष निरीक्षण टोली पठाएर अध्यक्षले कमिशन लिएको पुष्टि गरेका थिए। जसमा बैंकका अध्यक्षलाई स्पष्टीकरण सोधी तत्कालिन गभर्नरको सिफारिसमा अर्थ मन्त्रालयले संचालकमा घटुवा गरेको हो।
उनको कामबारे राष्ट्र बैंकले सोधेको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएपछि गभर्नर अधिकारीले आफ्नो कार्यकालको अन्तिम सञ्चालक समिति बैठकमा नेपाल बैंकको संचालकलाई ५ लाख रुपैयाँल जरिवाना तिराउने निर्णय गराएको राष्ट्र बैंकका एक संचालकले बताए।
‘यो विषय गत वर्षकै हो, तत्कालिन गभर्नर ज्यूको अन्तिम बोर्ड बैंठकले जरिवानाको कारवाही निर्णय गरेको हो। गत वर्ष नै राष्ट्र बैंकमा थप ऋण दिलाइदिने भनेर नेपाल बैंकको अध्यक्षले कमिशन लिएको भन्दै उजुरी परेको रहेछ, निरीक्षण टोलीको रिपोर्टले पनि उनले कमिशन लिएको नै देखाएको थियो। स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो जवाफ नआएपछि जरिवानाको निर्णय गरिएको हो,’ ती संचालकले भने।