काठमाडौं। कमिसन अचाक्ली भएपछि सेवाप्रदायकले कार्डबाट हुने भुक्तानी बिस्तारै घटाउन थालेका छन्। नगद कारोबार निरुत्साहित गर्न र कार्डबाट हुने भुक्तानी बढाउन केन्द्रीय बैंकले नीति अघि सारे पनि कमिसन शुल्कमा बैंकहरूले मनपरी गरेपछि उपभोक्ताले नगद कारोबार बढाउन थालेका हुन्।
अन्तर्राष्ट्रिय कार्डका हकमा सेवाग्राहीबाट सेवा प्रदायकले भुक्तानी लिँदा बैंकबाट तीन प्रतिशतसम्म र स्थानीय कार्डबाट भुक्तानी लिँदा साढे दुई प्रतिशतसम्म कमिसन लिन थालेपछि नगद कारोबार बढ्न थालेको हो ।
सेवाग्राहीबाट कार्डमार्फत १ सय रुपैयाँ लिँदा बैकले अन्तर्राष्ट्रिय कार्डका हकमा तीन रुपैयाँ र नेपाली कार्डका हकमा २ रुपैयाँ ५० पैसासम्म कमिसन लिने गरेका छन्।
‘यो कमिसन शुल्क संसारकै सबैभन्दा महँगो हो,’ काठमाडौंस्थित एक पाँचतारे होटल सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘विदेशमा कार्डबाट भुक्तानी गर्दा यतिविधि कमिसन लिँदैनन्। उनीहरुले शून्य दशमलव २५ प्रतिशतसम्म कमिसन लिन्छन्।’
नेपालमा डलर कार्डका हकमा शून्य दशमलव ७५ प्रतिशत र स्वदेशी कार्डबाट भुक्तानी हुँदा शून्य दशमलव ५० प्रतिशतसम्म लिनुपर्ने उनको भनाइ छ। ‘नत्र कार्डबाट हुने भुक्तानी निरन्तर घट्दै जान्छ,’ उनले भने।
केन्द्रीय बैंकको तथ्यांक अनुसार नेपालमा गत असारसम्म १ करोड ८ लाख हजार डेबिट कार्ड र २ लाख ३८ हजार क्रेटिड कार्ड जारी भएका छन्।
हाल अधिकांश व्यक्ति कार्डमार्फत भुक्तानी गर्न खोज्छन्। तर, सेवा प्रदायकले अनेकन बहाना बनाएर कार्डबाट भुक्तानी लिन चाहँदैनन्। उनीहरूले भुक्तानी लिन नचाहनुको प्रमुख कारण भनेको अचाक्ली कमिसन हो।
नगद कारोबार पारदर्शी नहुने, स्रोत नखुलेको वा गैरकानुनी तवरबाट आर्जन गरेको सम्पत्ति प्रयोग हुन सक्ने खतरा बढेपछि केन्द्रीय बैंकले कार्डमार्फत हुने भुक्तानीलाई बढावा दिँदै आएको थियो।
सुरुसुरुमा सेवाप्रदायकले पनि कार्डमार्फत भुक्तानी लिन्थे। तर, शुल्क अत्यधिक लिन थालेपछि अहिले उनीहरू त्यताबाट बिस्तारै पछि हट्दै जान थालेका छन्।
ठूला तारेहोटल, सुपरमार्केट, किराना पसल, कफी पसल तथा रेस्टुरेन्ट अहिले सकभर कार्डबाट भुक्तानी लिन चाहँदैनन्। बैंकले उपलब्ध गराउने ‘स्वाप मेसिन’ पनि सेवाप्रदायकले बैंकसँग किन्नुपर्छ। उसको ‘सिस्टम’ उपभोग गरेवापत लाग्ने शुल्क अत्यधिक भएकाले बिस्तारै व्यवसायी नगदमै कारोबार गर्न रुचाउन थालेका हुन्।
केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय अभ्यास हेरेर त्यहीअनुसार शुल्क निर्धारण नगर्ने हो भने आगामी दिनमा कार्डबाट हुने भुक्तानी शून्यमा झर्न सक्ने व्यवसायीको आँकलन छ।
अहिले बिगमार्ट, सेल्सबेरी, रेस्टुरेन्ट, कफी पसल, कपडा पसल, ब्रान्डेड सोरुम नगदमै कारोबार गर्न थालेका छन्।