काठमाडौं । सरकारले विभिन्न १० प्रकारका सामानहरु आयात गर्न प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।
मन्त्रालयले आउँदै असार मसान्तसम्मका लागि १० वटा वस्तु आयातमा रोक लगाइएको जानकारी गराएको छ । मन्त्रालयले कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, रंगीन टेलिभिजन(३२ इञ्चभन्दा माथि) जिप, कार र भ्यानहरु आयाता प्रतिवन्ध लगाएको जानकारी गराएको छ ।
तर,(एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने छ । २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु, खेल्ने तास आयात रोकिएको मन्त्रालयले जानकारी दिएको छ । औद्योगिक कच्चा वस्तु आयातमा रोक नलगाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू नहुने मन्त्रालयले स्पष्टपारेको छ ।
आयात बढेर विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि सरकारले वस्तु आयातमा प्रतिवन्धसम्म लगाउने निर्णय गरेको हो । यस्तै नेपाल राष्ट बैंकले पनि विभिन्न ३०० वस्तुको प्रतितपत्र (एलसी) खोल्न रोक लगाइसकेको छ ।
विदेशी मुद्रा सञ्चिती घटेर साढे ९ अर्ब डलर मात्र बाँकी छ । यो विदेशी मुद्रा सञ्चितिले साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ ।
नौ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।
नौ महिनामा ३१.९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।
चालू आवको नौ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुर्पैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।