काठमाडौं । नजिकिँदै गरेको चाडबाडमा चिनीको अभाव हुने संकेत देखिएपछि उद्योगीले सरकारलाई तत्काल आयातका लागि आग्रह गरेका छन् । यसवर्ष चिनीको उत्पादनमा गिरावट आएपछि चाडबाडमा हुने माग धान्न धौ–धौ पर्ने देखिएपछि उद्योगीले तत्काल चिनी आयात गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेका हुन् ।
यस वर्ष देशभित्र १ लाख २० हजार टन मात्रै चिनी उत्पादन भएको छ । यो गत वर्षको तुलनामा झण्डै ४० प्रतिशत कम हो । गत वर्ष झण्डै २ लाख टन चिनी उत्पादन भएको चिनी उत्पादक संघले जनाएको छ ।
नेपालमा वार्षिक झण्डै ३ लाख टन चिनीको माग हुन्छ । यस वर्ष कुल चिनीको मागको ३० प्रतिशत हाराहारी मात्रै उत्पादन भएको छ ।
३ लाख टन चिनीको माग हुँदा १ लाख २० हजार टन स्वदेशी उत्पादन छ । ५० देखि ६० हजार टन चोरी पैठारी भएर भित्रिन्छ । १ लाख ७० हजारदेखि ८० हजार टन पुग्छ । ३ लाखमध्ये बाँकी १ लाख २० हजार टन चिनी आयात गर्नुपर्ने उद्योगीहरू बताउँछन् ।
अन्य समयको तुलनामा चाडबाडमा मात्रै झण्डै ५० देखि ६० हजार टन चिनी खपत हुने चिनी उत्पादक संघको तथ्यांकबाट देखिन्छ । उखु खेतीबाट किसानहरू विस्तारै पलायन हुँदै गएपछि त्यसको प्रत्यक्ष असर चिनी उत्पादनमा परेको संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।
नेपालको उत्पादनले चिनीको माग धान्नै सक्दैन । विगतमा वर्षको तुलनमा समेत चिनी उत्पादन घटिरहेको छ । त्यही भएर सरकारलाई बेलैमा चिनी आयात गर्न सुझाव दिएको बताए ।
केही चिनी उत्पादकहरूले उखु किसानको भुक्तानी समयमै नदिएपछि किसानहरू यो क्षेत्रबाट विस्तारै पलायन हुँदै गए । आफ्नो पसिनाको मूल्य लिन पनि बारम्बार किसान माइतीघरमा आइपुग्नु परेको तितो यर्थाथका कारण उखु खेती विस्तारै घट्दै गएको अग्रवालको भनाइ छ ।
सरकारले उखु खेतीको विस्तार गराउन पनि उखु किसानले पाउने भुक्तानी दिलाउन आवश्यक रहेको सम्बद्ध उद्योगीहरू बताउँछन् । यस यसैगरी उखु खेती कम हुँदै जाने हो भने एकातिर उद्योगीले अर्बौं रुपैयाँ लगानी गरेर स्थापना गरेको चिनी मिल पनि बन्द हुन्छ भने अर्कोतिर चिनी आयात गर्दा नेपालबाट अर्बौं रुपैयाँसमेत बाहिरिने अवस्था आउने अग्रवाल बताउँछन् ।
नाम चलेकै उद्योगीबाट सरकारले उखु किसानको भुक्तानी दिलाउन नसक्दा यो क्षेत्रबाट धेरै किसान पलायन भइसकेको संघको निश्कर्ष छ ।