काठमाडौं। नेपालमा बर्सेनि अर्बौं रुपैयाँको डायपर भित्रिँदा आत्मनिर्भर बनिसकेको नेपाली उद्योगले क्षमताभन्दा कम उत्पादन गर्दै आएका छन्।
हाल देशभर चार वटा बेबी डायपर उद्योग सञ्चालनमा छन्। यी कम्पनीको वार्षिक ५५ करोड पिस डायपर उत्पादन क्षमता भए पनि हाल २० करोड पिस मात्रै उत्पादन भइरहेको उद्योगी बताउँछन्। तयारी डायपर भित्रिँदा नेपाली उद्योगले क्षमताभन्दा कम उत्पादन गरिरहेका हुन्।
नेपालमा बर्सेनि करिब २ अर्ब बराबरको झन्डै १२ करोड पिस डायपर आयात भइरहेको छ। जबकि नेपाली उद्योगको उत्पादन क्षमता वार्षिक ५५ करोड पिस उत्पादन हुने गरेको तथ्यांक छ।
सरकारले ‘रातो कर माफ’ नीतिमार्फत तयारी सेनेटरी प्याड तथा बेबी डायपर भित्र्याउँदा भन्सार ५ प्रतिशत निर्धारण गरेको छ। तर, सेनेटरी प्याड तथा बेबी डायपर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको भन्सार २५ प्रतिशत छ। यसले गर्दा पनि उद्योगीको मनोबल खस्किएको नेपाल सेनेटरी प्याड तथा डाइपर उत्पादक संघ अध्यक्ष डोलराज अधिकारी बताउँछन्।

‘आधा मात्रै उद्योग चलेका छन्। बाहिरी आयात बढी भयो। कच्चा पदार्थ ल्याउँदा भन्सार शुल्क महँगो, तयारी डायपर सस्तो भयो। पूर्णरुपमा उद्योग चल्न सकेका छैनन्। रातो कर माफी छुटले कच्चा पदार्थ महँगो परेको छ भने तयारी वस्तु ल्याउँदा सस्तो,’ उनले भने।
नेपालमा चालू आव चैतसम्म मात्रै ११ करोड ६४ लाख पिस डायपर भित्रिएको छ। त्यसबापत १ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको छ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १२ करोड ८४ लाख पिस डायपर आयात हुँदा १ अर्ब ९८ करोड रुपैयाँ बाहिरिएको छ। आव २०७९/८० मा ११ करोड ५३ लाख डायपर आयात हुँदा १ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको छ।
नेपालमा नवजात शिशु, बिरामी तथा वृद्धवृद्धाले डायपर प्रयोग गर्छन्। पछिल्लो वर्षमा यसको माग पनि बढ्दो छ। तयारी डायपर आयातले प्रयोग बढेको पुष्टि गरेको छ।
अघिल्लो आर्थिक वर्षमा ११ करोड ५३ लाख पिस डायपर आयात भएकामा गत वर्ष १ करोड ३१ लाख पिस बढेर १२ करोड ८४ लाख पिस पुगेको छ।
देशको उत्पादन क्षमतालाई मूल्यमा परिणत गर्ने हो भने बेबी डायपर ६ अर्ब रुपैयाँको हुने देखिन्छ। स्वदेशमै पर्याप्त उत्पादन क्षमता भएकाले व्यापार घाटा घटाउन र आयात प्रतिस्थापन गर्नसमेत सहयोग पुग्छ।
एयरलेड पेपर, एसएपी पेपर, एडेसिभ ग्लु, स्प्यान्डेक्स डायपर तथा सेनेटरी प्याड उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ हुन्। सरकारले यी वस्तुमा भन्सार २५ प्रतिशत लगाएको छ।
कच्चा पदार्थमा पनि राजस्व कम गरिनुपर्ने संघ अध्यक्ष अधिकारीको माग छ। डायपरजस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीमा आत्मनिर्भर हुनु दीर्घकालीन दृष्टिले महत्त्वपूर्ण देखिन्छ।

सका लागि नीति निर्माण, कर सहुलियत र प्रविधिमा लगानी आवश्यक देखिन्छ। सरकार र सरोकारवाला निकायले डायपर तथा अन्य स्वास्थ्य सामग्रीमा आत्मनिर्भरता बढाउन दीर्घकालीन रणनीति बनाउनुपर्ने उनको सुझाव छ।
नेपाल सेनेटरी प्याड तथा डाइपर उत्पादक संघका अनुसार बेबी डायपर तथा सेनेटरी प्याड अत्यधिक मूल्य अभिवृद्धि हुने उत्पादन हुन्। विभिन्न गुणस्तरका उत्पादनमा शतप्रतिशत मूल्य अभिवृद्धि हुने गर्छ।
साथै, कार्टुन, बोरा, र्यापर र कार्टुन टेपजस्ता प्याकेजिङ वस्तु यो उद्योगमा ठूलो परिमाणमा खपत हुने भएकाले स्वदेशी प्याकेजिङ वस्तु उत्पादनक उद्योगले ठूलो व्यापार पाउने सम्भावना छँदै छ।
बेबी डायपर र सेनेटरी प्याड उत्पादन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ५ देखि ६ हजारले रोजगारी पाइरहेको उद्योगी बताउँछन्।