काठमाडौं । मुलुकमा जब कुनै संकट वा अभाव पैदा हुन्छ, त्यही बेला सीमित व्यापारीहरुले फाइदा उठाइहाल्छन् । अभावमा सहयोग गर्नुपर्ने बेला केही व्यवसायीहरुको ध्यान भने त्यसलाई नाफा कमाउने अवसरको रुपमा लिइरहन्छन् ।
त्यस्तै अभावलाई कमाउने अवसरको रुपमा अहिले मास्क उत्पादकहरुले लिएका छन् । कोरोना भाइरस (कोभिड १९)को संक्रमण तीब्र भइरहेको बेला बजारमा मास्कको माग पनि ह्वात्तै बढेको छ । त्यहि मागलाई ध्यानमा राखेर मास्क उद्योगीहरुले एउटै मास्कमा २५ प्रतिशतसम्म मूल्य वृद्धि गराएको छ ।
२५ प्रतिशतसम्म मूल्य वृद्धि गराएर कालोबजारी गर्दा समेत बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मुखदर्शक भएको छ । मास्कको मूल्य वृद्धि हुँदा समेत विभागले कुनै कारबाही गर्न नसकेको उपभोक्ताहरुको गुनासो छ ।
पछिल्लो समय प्रहरीले समेत मास्क अनिवार्य गरेको छ । घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउनु पर्ने र नलगाए जरिवाना गर्ने निर्णयको फाइदा अहिले मास्क व्यापारीहरुले उठाउँदै आएका हुन् ।
कोरोनाको संक्रमण उच्च भएसँगै मास्कको माग अत्यधिक बढेपछि व्यापारीहरुले आफूखुसी मूल्य बढाएका छन् । मास्कको माग बढेसँगै होलसेल मूल्यमा २५ पैसा बृद्धि गरेको एक उद्योगीले जानकारी दिए ।
बजारमा पाइने सामान्य खालका सर्जिकल मास्कको होलसेल मूल्य यस अघि २ रुपैया थियो । तर, संक्रमण दर बढेको र प्रहरीले मास्क अनिवार्य गरेपछि २५ पैसा अर्थात २५ प्रतिशत मूल्य बृद्धि गरेको हो ।
यस्तै मेलवर्ण नामक अर्को सर्जिकल मास्कको मूल्यमा पनि ५० पैसा बृद्धि भएको छ । यस अघि ३ रुपैया ५० पैसा होलसेल मूल्य थियो भने अहिले बृद्धि भएर ४ रुपैया पुगेको ती उद्योगीले बताए । पछिल्लो समय मास्क बनाउने कच्चा पदार्थको मूल्य बढेसँगै मास्कको मूल्य बढाउनु परेको उद्योगीहरुको भनाई छ ।
उद्योगबाटै होलसेल मूल्य बढेपछि अव बजारमा पनि खुद्रा मूल्य बढ्ने देखिन्छ । उद्योगमै मूल्य बढेपछि होलसेल व्यापारीहरुले पनि खुद्रा व्यापारीहरुलाई मूल्य बढाएर पठाइएको बताइएको छ । ‘उद्योगमै मूल्य बढेपछि पहिलाको तुलनामा केहि रकम बढेको छ,ती व्यापारीले भने,तर मूल्य कति पुगेको छ भन्ने जानकारी भने दिइएको छैन ’ ।