काठमाडौं– गत साता मंगलबार जनकपुरका मुकेश साहले कोरोनाविरुद्धको जोनसन एण्ड जोनसन खोप लगाए। जनकपुरदेखि खोप लगाउनकै लागि काठमाडौं आएका उनी ४ दिन काठमाडौं बस्नुपर्यो।
शनिबार काठमाडौं आएका उनले मंगलबार मात्रै खोप लगाउन पाए। बुधबार वैदेशिक रोजगारीका लागि साउदी जाने तयारीमा रहेका उनले खोप लगाए पनि अघिल्लो दिन दिउँसोसम्म खोप प्रमाणीकरणको कागज पाउन सकेका थिएनन।
प्रमाणीकरणका लागि लामो लाइन र एउटा मात्रै अस्पतालमा प्रमाणीकरण गर्ने व्यवस्थाले गर्दा उनीजस्ता सयौंलाई समस्या थियो। सुरुका दिनमा टेकु अस्पतालमा मात्रै खोप लगाएको प्रमाणीकरण गर्ने भएकाले मानिसहरुलाई खोप लगाउन भन्दा प्रमाणीकरणका लागि सास्ती भयो। कोरोना संक्रमितको मात्रै उपचार गर्ने यस अस्पतालमा भीड बढेको र सोही भीडले झन् संक्रमण फैलने जोखिम देखिएपछि चौतर्फी विरोध भयो ।
अहिले सरकारले काठमाडौं उपत्यकाका ४ वटा अस्पताललाई केन्द्रीय प्रमाणीकरण केन्द्र तोकेको छ। टेकु अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई प्रमाणीकरण केन्द्र तोकिएको छ। यसबाट भीड थोरै कम भएको छ तर समस्या समाधान भएको छैन।
उपत्यकामा मात्रै प्रमाणीकरण हुने भएकाले देशभरबाट यहीँ आउनुपर्ने बाध्यता छ। एकातिर कोरोना संक्रमण फैलने डर छ भने अर्कोतर्फ बाहिरी जिल्लाबाट आउनेलाई आउने–जाने र खाने–बस्ने सास्ती भएको छ।
कन्सुलर विभागले खोपको प्रमाणीकरण केन्द्रीय निकायले दिएकोलाई मात्रै मान्यता दिने भनेकाले अहिले ४ वटा केन्द्रीय अस्पताललाई प्रमाणीकरण गर्ने निकाय बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी बताउँछन्। ‘कन्सुलर विभागले केन्द्रीय निकायबाट प्राप्त प्रमाणपत्रलाई मात्रै मान्यता दिने भनेको छ, त्यसैले हामीले उपत्यकामा मात्र केन्द्र तोकेका हौं। बाहिरी जिल्लाबाट खोपको प्रमाणीकरण लिनका लागि मात्रै आउन मानिसलाई निकै सकस परेको छ, त्यसैले अब हामीले अनलाइनमार्फत यो काम गर्ने र सहजीकरण गर्ने तयारी थालेका छौं,’ अधिकारीले भने।
अबदेखि खोप कार्डमा नै क्युआर कोड राख्नेगरी तयारी थालिएको उनले जनाए। अबको केही दिनमै समस्याको समाधान गर्ने अधिकारी बताउँछन्। खोप कार्डमा नै क्युआर कोड राखेपछि जहाँबाट खोप लगाए पनि प्रमाणीकरणको लागि कुनै सास्ती नहुने अधिकारीको तर्क छ।
परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले वैदशिक रोजगारीमा जाने, विदेश अध्ययन गर्न जाने तथा अन्य नागरिकहरुको हकमा खोपको प्रमाण अंग्रेजीमा चाहिने र प्रमाणीकरणका लागि ४ वटा अस्पताल तोकिएको बताए।
४ वटा केन्द्र तोकिए पनि अस्पतालहरुमा खोपको प्रमाणीकरणको लागि मानिसहरुको भिड देखिएको छ। शुक्रराज अस्तपालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार खोप लगाउनका लागि खोप केन्द्रमा पुगेका मानिसहरु एक हप्तापछि कोरोना संक्रमित भएर अस्पताल पुग्न थालेका छन्।
कोरोना खोप लगाउन जाँदा संक्रमित बनेकामध्ये ७ देखि १० जनालाई अस्पताल नै भर्ना गर्नुपरेको डा. बास्तोलाले बताए। खोप केन्द्रमा भीडभाड, निषेधाज्ञा खुकुलो बनाइँदै जानु र आम मानिसले स्वास्थ्यका मापदण्ड नअपनाउनुले संक्रमण बढ्दै गएको डा. बास्तोलाको भनाइ छ। खोप लगाएका व्यक्ति पनि कोरोना संक्रमित भएर भर्ना हुनेको संख्या बढ्दै गएको उनी बताउँछन्। ‘यही अवस्था रहेमा अबको अवस्था अझ जटिल बन्न सक्छ,’ उनले भने।