काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति आश्वासन दिँदै राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र गभर्नर छनाेट समिति सदस्य रहेका अर्थविद् डा. विश्व पौडेललाई राजीनामा दिन लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले बोली फेरेका छन्।
भावी गभर्नर नियुक्तिको विषय जटिलता भैरहेको र कांग्रेसलाई गर्भनर दिने प्रतिबद्धता जनाइसकेका प्रधानमन्त्री ओलीको बोलीले नयाँ ट्विस्ट भएको छ।
पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन्।
‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन। त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु’ , प्रधानमन्त्री ओलीले भने।
उनले मुलुकले कहिले गर्भनर पाउने भन्ने विषय भने खुलाएनन्। लामो समयदेखि गभर्नर नियुक्ति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिलाई विशेष रुपमा हेरिएको छ।
प्रधानमन्त्रीले गभर्नरका लागि योग्य भएकै कारण राष्ट्र बैंकबाट कार्यकारी निर्देशक भट्टलाई राजीनामा गराए पनि कामु गभर्नर नीलम ढुंगानाले राजीनामा नै स्वीकृत नगरेको भन्दै बनाउन नसक्ने र विकल्प दिन कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुरोध गरेका थिए।
सभापति देउवा र प्रधानमन्त्री ओलीकै सहमतिमा पौडेल उपयुक्त व्यक्ति हुने भन्दै गभर्नर छनाेट समितिबाट राजीनामा दिन लगाएर समितिमा अर्का व्यक्तिलाई नियुक्त गरिसकिएकाे छ।
गभर्नर नियुक्ति अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री ओलीले योग्य व्यक्तिलाई गभर्नर बनाउने र आफ्नो मान्छे कोही नरहेको भन्ने धारणाले पुनः शंका उत्पन्न भएको टिप्पणी हुन थालेका छन्।