काठमाडौं। कुमारी बैंकको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणका लागि १५ अर्ब १८ करोड रुपैयाँको संयुक्त लगानी सम्झौता भएको छ।
एमए पावर प्रालिले गोरखाको पालुङटारा, लमजुङको राइनास र तनहुँको भानु नगरपालिका भएर बहने मर्स्याङ्दी नदीमा आयोजना निर्माण गर्नेछ।
एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षीतिज खड्काको उपस्थितिमा प्रभु बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निर्माणको सम्झौता भएको हो।
आयोजनामार्फत उत्पादित विद्युत् विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार २०८६ वैशाखमा व्यापारिक उत्पादन सुरु हुनेछ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि अन्तिम चरणमा रहेको र विद्युत् प्रसारण लाइनमार्फत बजारमा पुर्याउने योजना छ।
आयोजनामा अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको स्वपुँजी लगानी रहनेछ। डोल्मा इम्प्याक्ट फन्डको पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी रहने कम्पनी अध्यक्ष आचार्यले बताए।
यही समूहबाट हाल सेतीखोला हाइड्रोपावरमार्फत २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छ।
आयोजनाबाट उत्पादित बिजुली विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा प्राधिकरणको मार्कीचोक सबस्टेसनमा २२०/१३२ केभीमा जोडिनेछ।