काठमाडौं। नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बिमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक इमान्दारिताका साथ काम गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन्। प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बोल्दै उनले इमान्दारिताका साथ काम गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका हुन्।
उनले भने, “बिमा व्यवसायको हालसम्मको अवधिको समीक्षा गर्नु आवश्यक छ, जोखिम हस्तान्तरण गरेर वित्तीय सुरक्षण गर्न सकिन्छ भनेर आम नागरिकलाई आश्वस्त पार्नुपर्छ, दाबी भुक्तानीलगायतमा देखिएका कमी कमजोरीहरूलाई घटाउँदै शून्यमा झार्नुपर्छ।”
यस्तै, उनले बिमाप्रतिको विश्वसनीयता अभिवृद्धि, सेवामा सुधार, नविनतम् प्रविधि अवलम्बन र पहुँच वृद्धिको प्रक्षेपणसहितको वार्षिक कार्यक्रम ल्याउन बिमा कम्पनीहरूलाई निर्देशन दिए।
“बिमा कम्पनीहरू सरकारबाट बिमा गर्नैपर्ने गरी गरिएका बाध्यकारी क्षेत्रबाट बाहिर निस्कनुपर्छ, नयाँ नयाँ क्षेत्रमा जानुपर्छ, समग्र बिमा क्षेत्रको विकास एवम् विस्तारमा आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ,” उनले भने।
अध्यक्ष ओझाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम सर्वसाधारणसम्म लाभ पुग्ने गरी उपयोग गर्नुपर्ने बताए।
यसैगरी प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बिमा कम्पनीहरूले बिमा व्यवसाय मात्र नभई सेवा पनि हो भन्ने भावनाले काम गर्नुपर्ने र बिमा व्यवसायलाई थप मर्यादित एवम् व्यवस्थित बनाउँदै अघि बढ्नुपर्ने बताए।
त्यसअवसरमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष ओझाले प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन तथा फुटसल प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए।
प्रभातफेरी कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक तथा कर्मचारीहरू, नेपाल बिमक संघ, नेपाल जीवन बिमक संघ, नेपाल लघुबीमक संघ, नेपाल बिमा सर्भेयर संघ, पेशागत बिमा अभिकर्ता संघ र नेपाल इन्स्योरेन्स ब्रोकर संघका अध्यक्ष तथा पदाधिकारीलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।