काठमाडौं। चार्टर्ड एकाउन्टेन्सी (सिए) शिक्षाको नयाँ पाठ्यक्रम लागू गरिने भएको छ। चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई अझ सान्दर्भिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले नेपालमा अबदेखि नयाँ पाठ्यक्रम लागू गरिने भएको हो।
लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले लेखा व्यवसायको एक अग्रणी संस्थासँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम विकास गरेको हो। यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्राे र तेस्राे तहका लागि क्रमशः डिसेम्बर २०२५ डिसेम्बर २०२६ र जुन २०२८ बाट लागू गरिने भएको छ।
चार्टर्ड एकाउन्टेन्सी शिक्षाको नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय इन्टरनेशनल फेडरेशन अफ एकाउन्टेन्ट्स (आईएफएसी)बाट जारी भएको अन्तर्राष्ट्रिय शिक्षा मापदण्डअनुरुप विकास गरिएको छ।
आइसीएडब्लुसँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम बमोजिम विकास गरिएको उच्च गुणस्तरीय पाठ्यपुस्तकहरुले समग्र चार्टर्ड एकाउन्टेन्सी शिक्षाको गुणस्तर अभिवृद्धि हुने अपेक्षा रहेको छ।
नयाँ पाठ्यक्रम लागु भए पश्चात् देशलाई आवश्यक दक्ष लेखाव्यवसायी उत्पादन भई देशको समग्र लेखाव्यवसाय क्षेत्रको विकासमा टेवा पुग्ने तथा संस्थाका सदस्यहरुको अन्तर्राष्ट्रिय पहिचान तथा प्रतिस्पर्धी क्षमतामा समेत उल्लेखनीय रुपमा वृद्धि हुने विश्वास लिइएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपालमा लेखाव्यवसायको विकास, संरक्षण, संवर्द्धन तथा नियमन गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापित नियमनकारी निकाय हो। यस संस्थाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यवस्था बमोजिम सन् १९९९ देखि चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदान गर्दै आएको छ।