काठमाडौं। उच्च सरकारी कार्यालय पाटनको भवन निर्माणको जिम्मा श्रीजन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि दोलखाले पाएको छ। २६ करोड लागतमा २४ महिनाभित्रमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने गरी भवनको सोमबार शिल्यान्यास गरिएको हाे।
आधुनिक शैलीको साततले भवन बुद्धजयन्तीको अवसरमा महान्यायाधिवक्ता रमेश बडालले शिल्यान्यास गरेका हुन्। “पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ”, उनले भने, “कार्यालयको भवन निर्माणको समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न जरुरी छ।”
उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कार्यबोझ समेतको आधारमा आत्यवश्यक रहेको नयाँ भवन निर्माणले त्यस कार्यालयबाट सम्पादन हुने कार्यमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे।
पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीले कार्यालयको भवन शिलान्यासको चरणसम्म पुर्याउन,जग्गा प्राप्ति,भवनको डिजाइन,डिपिआर तथा स्रोतको सुनिश्चितता गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण सरोकारवाला निकाय,पदाधिकारी तथा महान्यायाधिवक्ताको कार्यालयलाई विशेष धन्यवाद ज्ञापन गरे।
शिल्यान्यास कार्यक्रममा बोल्दै श्रीजन कन्स्ट्रक्सनका अध्यक्ष सुन्दर कार्कीले भवन निर्माणको समय २४ महिनाको रहेपनि निर्धारीत समय सिमा भन्दा अगाबै सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए। समयमा गुणस्तरीय निर्माणको प्रतिबद्धता हाम्रो कम्पनीको मुल नारा हो, अध्यक्ष कार्कीले भने, यस अघिका परियोजनाहरु पनि समय अगाबै सकाएका छौं, यो पनि त्यहि प्राथमिकतामा रहनेछ।
कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, ललितपुरका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत पाटनका न्यायाधीश तथा रजिष्ट्रार, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, उच्च अदालत पाटन बार इकाईका अध्यक्ष समेतको उपस्थिति रहेको थियो ।