काठमाडौं। जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको चौमासिक समीक्षामा धारणा राख्ने सरोकारवालाहरुले विनियोजित आर्थिक वर्षको अन्त्यमा वार्षिक बजेट खर्च गर्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिएका छन्।
जिल्लास्थित कार्यालय र स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक समीक्षामा सहजीकरण गर्ने प्रतिबद्धतासहितको मन्तव्य राख्दै जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिदेव फुयाँलले हरेक समीक्षाले सबैलाई केही न केही सन्देश दिन्छ भन्दै नागरिकले अनुभूति गर्नेगरी विकासका काम अगाडि बढाउन आग्रह गरेका हुन्।
“वार्षिक बजेटको ४० प्रतिशत असारमा खर्च हुने प्रवृत्ति रोकिनुपर्छ, त्यसका लागि ध्यान दिन आग्रह छ, कार्यक्रम सम्पन्न गर्ने जिम्मेवारी र दायित्व पूरा गर्ने कार्यालयलाई यस्ता समीक्षाले थप जिम्मेवार बनाउँछ”, उनले भने।
उपप्रमुख रामलाल थिङले जनअपेक्षाअनुरुप विकासका गतिविधि अगाडि बढाउन सबै कार्यालयबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए। कोन्ज्योसोम गाउँपालिकाका उपप्रमुख राजनप्रसाद घिमिरेले ललितपुरका तीनवटा गाउँपालिका गत असोज ११ र १२ गतेको बाढिपहिरोबाट धेरै प्रभावित भएकाले क्षतिको मूल्याङ्कनका आधारमा समस्या समाधान गर्नेगरी जिल्लास्थित विषयगत कार्यालयलाई आग्रह गरे।
“हामी निर्वाचित भएको तीन वर्ष भयो, जिल्लाका विषयगत कार्यालयले गरेका कतिपय काम र कार्यक्रम हामीलाई नै थाहा हुँदैन, यो समस्या छ, स्थानीय सरकारलाई त्यहाँ सञ्चालन भएको कार्यक्रम जानकारी हुनुपर्छ। सङ्घ र प्रदेशका नियन्त्रणमा रहेका सबै कार्यालय स्थानीय सरकारप्रति पनि उत्तरदायी हुनुपर्छ”, उनले भने।
ललितपुरका जिल्ला समन्वय अधिकारी हरिनारायण बेलवासेले आर्थिक वर्षमा विकास निर्माणमा देखिएका समस्या समाधानका लागि समन्वय, सहकार्य र सहजीकरणको काम जिल्ला समन्वय समितिको भएकाले समाधानका उपाय ल्याउन आग्रह गरे।
“स्थानीयस्तरका समस्याहरु तपाईंले ल्याउने हो, हामीले तपाईंहरुलाई सहजीकरण गर्ने हो, काम देखाउनका लागि प्रस्तुतीकरण मात्रै लिएर नआउनूस्, अलि रचनात्मक र जनजीविका सुधार गर्नेखाका कार्यक्रमहरु पनि बनाउनूस्, सहजीकरणका लागि भएका समस्यामा हामी तयार छौँ”, उनले भने।
सडक डिभिजन कार्यालय ललितपुरका इन्जिनियर आशिष महर्जनले जिल्लामा रहेका ४२ वटा सडकहरुमा ३७.४ प्रतिशत वित्तीय प्रगति रहेको बताए। उनले जिल्लामा ३९ वटा सडकमा निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी गराए।