काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा आयात निर्यातमा वृद्धि भएको छ। आवको ९ महिनामा निर्यात ६५.२ प्रतिशतले वृद्धि भई १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.७ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जुश, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.७ प्रतिशत, १४.४ प्रतिशत र २४.९ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल ÷ धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ।
आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.८ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३५ अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ११ अर्ब २ करोड रुपैयाँ बराबरको भएको थियो।