काठमाडौं। पछिल्लो समय देशका दुई ठूला अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र गौतम बुद्ध एयरपोर्ट निर्माणलाई लिएर विभिन्न प्रश्न उठ्न थालेको छ।
सांसदहरूले यी दुई विमानस्थल निर्माणमा ठूलो भ्रष्टाचार भएको बताउँदै आएका छन्। भ्रष्टाचार भएको चर्चा भएसँगै सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन उपसमिति भनाएर अध्ययन गरिएको थियो।
जसमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन भएर सार्वजनिक लेखा समितिमा प्रतिवेदन पुगिसकेको छ। भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन हुने भएको छ।
यस क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न बनेको उपसमितिका संयोजक बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना बनाएको आरोप लगाएका छन्।
रुपन्देही पुगेका उनले भ्रष्टाचार र विमानस्थल सञ्चालनको मुद्दा एकसाथ लैजानुपर्ने आवश्यकता बताएका थिए। उनले मुआब्जा वितरणमा भ्रष्टाचार भएको संकेत गर्दै चर्को मूल्यमा आवश्कयताभन्दा बढी जग्गा अधिग्रहण गरिएको बताए।
यसअघि भैरहवा विमानस्थल सञ्चालन गर्न स्थानीय व्यवसायीले ठूलो प्रयास गरे पनि नियमित उडान हुन सकेको छैन।
'४१ अर्ब लगानी गरेर यो नचल्ने एयरपोर्ट कसले बनायो?, उद्घाटन भएको यतिका वर्ष हुँदा पनि दुवै विमानस्थल किन सञ्चालनमा आउन सकेन?, यस विषयले संसदमा प्रवेश गरेको छ,' उनले प्रश्न गरे, 'यसै विषयमा पनि सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन उपसमिति बनेको र त्यो समितिको काम अनियमितताको छानबिन गर्नाका साथै विमानस्थल कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने पनि रहेको छ, सोहीअनुसार प्रतिवेदन तयार भइसकेको छ।'
उनले पोखरा विमानस्थल प्राविधिक रूपमा सञ्चालनमा आउन कठिनाइ रहेको दाबी गरे। साथै, उनले भैरहवा विमानस्थल सञ्चालनमा आउन धेरै समस्या नरहेको बताए।
यसअघि भैरहवा विमानस्थल सञ्चालन गर्न स्थानीय व्यवसायीले ठूलो प्रयास गरे पनि नियमित उडान हुन सकेको छैन। स्थानीय व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले राजनीतिक दलको होडबाजीमा विमानस्थल निर्माण भएको बताए।
उनले सरकारले गरेको आग्रहअनुसार उद्योगी व्यवसायीले पूर्वाधारमा करिब ८० अर्ब लगानी गरे पनि लगानी डुब्ने खतरा बढेको बताएका थिए।
पछिल्लो समय स्थानीय व्यवसायीले विमानस्थल सञ्चालनको विषयलाई विषयान्तर गर्न भ्रष्टाचारको मुद्दा उठान गरिएको जिकीर गरेका छन्।