काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले मुख्यालय सानेपामा ‘नीति तथा बजेट संवाद कार्यक्रम’ सम्पन्न गरेको छ। कांग्रेसले आगामी आवको बजेटलाई लक्षित गरी विभिन्न बहसका गतिविध सञ्चालन गर्दै आएको छ।
कांग्रेसले छलफलमार्फत पार्टी र सरकारलाई अर्थतन्त्रका अवयव बलियो बनाउने उपायबारे सुझाव दिन मुख्यालय सानेपामा अर्थविद्, उद्योगी, व्यवसायी र स्टार्टअपमा सक्रिय जेन जी पुस्तासम्मलाई निम्ताएर कार्यक्रम चलाएको हो।
सो अवसरमा कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा अथाह सम्भावना भएको जलविद्युत्, कृषिलगायत क्षेत्रलाई महत्त्व दिँदै सरकारले लगानी बढाउनुपर्ने बताए।
पूर्वअर्थराज्यमन्त्री डा. उदयशमशेर राणाले अर्थतन्त्रमा दोस्रो तहको सुधार भए मात्र देश समृद्ध हुन सक्ने धारणा व्यक्त गरे। सार्वजनिक महत्वका पूर्वाधार निर्माण र मर्मतमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
योजना आयोगका पूर्वउपाध्यक्ष एवं केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले युवा पुस्ता निरास हुँदै विदेसिनुभन्दा आफ्नै देशमा सम्भावना खोज्ने प्रयास गर्नुपर्ने बताए। त्यसका लागि नीति निर्माण तहमा बसेकाले समेत वातावरण निर्माण गर्नुपर्ने र शिक्षालाई व्यवसायमुखी बनाइनुपर्ने उनले उल्लेख गरे।

पोखरेलले आर्थिक, सामाजिक र राजनीतिक चक्र ठीक ठाउँ नहुन्जेल नागरिक स्तरबाट राजनीतिक दलप्रति व्यक्त गरिँदै आएका गाली सम्बोधन हुन नसक्ने बताए। उनले सत्तामात्रै सबथोक नभएकाले जनतालाई सुशासन र रोजगारी दिन सके मात्रै सरकारप्रतिको भरोसा बढ्ने औंल्याए।
अर्थतन्त्रलाई उँभो लैजान यस्ता छलफलबाट प्राप्त निष्कर्षले सरकार तथा पार्टीलाई लाभ पुग्ने उनको भनाइ छ।
यस्तै, योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले नेपालको कानुन उद्योगमैत्री भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको र देशलाई माथि उठाउने किसिमको सशक्त योजनाको खाँचो औंल्याए। सशक्त योजनाका लागि राजनीतिक इच्छाशक्ति बलियो हुनुपर्ने धारणा उनले व्यक्त गरे।
उद्योगमैत्री कानुनलाई कार्यान्वनमा लैजाँदाका अप्ठेरा फुकाउने काममा सक्रिय हुन उनले सरकारलाई सुझाए।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मनोज पौडेलले आर्थिक सुशासन र सार्वजनिक निकायप्रति सर्वसाधारणको विश्वास नभएसम्म सफल हुन नसकिने बताए। प्रत्येक गाउँ र पालिकामा गएर उद्यमशीलता प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो।
अर्थतन्त्रलाई गति दिन सुशासन अनिवार्य सर्त रहेको उनले औंल्याए।
महासंघका पूर्वकेन्द्रीय सदस्य रञ्जित आचार्यले स्टार्टअपका लागि कर्जा प्रवाह गर्नु मात्रै राज्यको दायित्व नभएकालाई युवालाई आकर्षण गर्न हात समातेरैै डोहोर्याउन आवश्यक रहेको बताए। स्टार्टअप कर्जा दिएकै भरमा युवा उद्यमी बन्न नसकिने हुँदा प्रोत्साहन पनि उत्तिकै आवश्यक रहेको उनको बुझाइ थियो।
कार्यक्रममा उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक विकास प्रतिष्ठानका इन्जिनियर उमेश गुप्ताले सरकारले उपलब्ध गराउने स्टार्टअप कर्जाबारे जानकारी दिएका थिए।
उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशीलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी संवादमार्फत साझा धारणा बनाउने उद्देश्यले छलफल आयोजना गरिएको बताए। संस्थाका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दालाई निरन्तर रुपमा उठान गरिरहने र आगामी दिनमा सरोकारवाला पक्षसँग छलफल जारी राख्ने जनाए।

नवउद्यम क्षेत्रमा विज्ञ कविराज जोशी, ट्याक्स एड्भोकेट प्रतिष्ठा भण्डारी, आकाश सुवेदीलगायतले धारणा राखेको कार्यक्रममा उद्यमशीलता क्षेत्रमा कार्यरत जेन जी पुस्तादेखि नीति निर्मातासम्मको उपस्थिति थियो।
केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग प्रमुख अजयबाबु शिवाकोटीले उद्यमशीलता बारेको छलफलका क्रममा उठेका विषयवस्तुलाई नेतृत्व तहसम्म पुर्याइने बताए।
उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यमको सशक्तीकरण विषयमा गहन संवाद तथा अन्तरक्रिया गर्ने उद्देश्यले कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो।