यात्रुका लागि मुलुकभर सवारी साधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले केही वर्षयता स्पार्क एड्भेन्चर कार्यक्रम गर्दै आएको छ। प्रचार–प्रसार अभावमा ओझेल परेका तथा प्रचुर पर्यटकीय सम्भावना भएका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले उक्त कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति सहभागी हुँदै आएका छन् । यसै सन्दर्भमा स्पार्क कारका निर्देशक सीताराम घिमिरेसँग स्पार्क एड्भेन्चरको तेस्रो संस्करणको तयारी र यसको उद्देश्यलगायत विषयमा केन्द्रित कुराकानीको सम्पादित अंशः
तेस्रो संस्करणको स्पार्क एडभेन्चर आयोजना गर्दै हुनुहुन्छ, तयारी कस्तो छ ?
स्पार्क कारको आयोजनामा वैशाख २६ देखि २८ गतेसम्म तेस्रो संस्करणको स्पार्क एड्भेन्चर आयोजना हुँदै छ। कार्यक्रममा हामीले ओझेल परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै आएका छौं। यो संस्करणमा हामीले सोलुखुम्बुको गौरी टाप र ओखलढुंगाको रुम्झाटारलगायतका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै छौं। वैशाख २६ गते बिहान काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नेछौँ। ६० वटा विद्युतीय सवारीमा विभिन्न क्षेत्रमा सक्रिय २०० भन्दा बढी व्यक्ति त्यसमा सहभागी हुँदैछन्। यसको तयारी अन्तिम चरणमा छ।
कार्यक्रममा को–को सहभागी हुँदैछन्?
विगतमा जस्तै यस वर्ष पनि विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तित्व स्पार्क एड्भेञ्चरमा सहभागी हुनेछन्। कला साहित्य, उद्योग, व्यापार, कर्मचारी, कूटनीतिक तथा पर्यटन क्षेत्रमा सक्रिय व्यक्तित्व रहनुहुनेछ ।
स्पार्क एड्भेन्चरमा सबै क्षेत्रलाई समेट्नुको कारण के हो?
हाम्रा लागि पर्यटन सबैभन्दा ठूलो प्रडक्ट हो। मुलुकको विकासका लागि सबैभन्दा उत्तम माध्यम भनेकै पर्यटन हो। परिवारसँग बिदा मनाउँदा वा साथीहरुसँग रिफ्रेसमेन्टका योजना बनाउँदा यसप्रकारका गन्तव्य नै रोज्छौं। सबै क्षेत्रको सहभागिता हुँदा ओझेल परेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन प्रभावकारी हुने भएकाले सबै क्षेत्रको साथ र सहयोग खोजेका हौं।
गौरी टापलाई नै रोज्नुको कारण के?
चारपांग्रे सवारी साधनमै बसेर सबैभन्दा नजिकबाट आँखै अगाडि सगरमाथा देख्न पाउने ठाउँ हो, गौरी टाप । यो क्षेत्र ओझेल परे पनि प्रचुर सम्भावनाको पर्यटकीय गन्तव्य हो। सगरमाथा नेपालीहरुको साझा सम्पत्ति पनि हो। सगरमाथाबारे नयाँ पुस्तालाई जानकारी दिन, यसबारे प्रचारप्रचार गर्न र विदेशमा रहेका नेपालीमाझ यस पर्यटकीय गन्तव्यबारे जानकारी दिने उद्देश्यले गौरी टाप रोजाइमा परेको हो।
आगामी दिनमा कसैले नजिकबाट सगरमाथा हेर्न, स्थानीय परिकारको स्वाद चाख्न र साहसिक पर्यटनको अनुभव लिनका लागि पनि यो स्थान उपयुक्त गन्तव्य बन्नेमा हामीले अपेक्षा गरेका छौं। माथिल्लो सगरमाथा भनेर चिनिएको ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो।
गौरी टाप कस्तो ठाउँ हो?
गौरी टाप धार्मिक र पर्यटकीय गन्तव्य हो। यो आफैंमा जादूमय ठाउँ हो भन्ने लाग्छ। त्यहाँ पुग्दा हामीले वास्तवमै फरक खाले ऊर्जा प्राप्त गर्छौं। त्यहाँभन्दा पाँच किलोमिटरको दूरीमा बेग्लै अनुभव गर्न पाउन सकिन्छ। गौरीटाप र त्यहाँभन्दा तल रहेको ओखलढुंगा बजारको दूरी जम्मा ३० मिनेटको छ। गौरी टापमा पाइने ऊर्जा र त्यहाँबाट देखिने विभिन्न हिमालको दृश्य विश्वको अर्को कुनै पनि ठाउँमा सम्भव छैन। यसप्रकारको गन्तव्यलाई विश्वभर प्रचारप्रसार गर्नुपर्छ भन्ने हाम्रो सोच र लक्ष्य हो।
कार्यक्रमपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धमा के–कस्तो अपेक्षा गर्नुभएको छ?
हामीले विगतका संस्करणका आधारमा भन्दा यो कार्यक्रमपछि यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्छ भन्ने लाग्छ। त्यसमाथि सहभागी व्यक्तित्वका कारण पनि प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने अपेक्षा छ। यहाँको प्रकृति, रैथाने खाना, कला र संस्कृतिको प्रवद्र्धन नयाँ ढंगले हुनेछ र यो नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास छ। त्यसबाहेक आगामी दिनमा पूर्वाधारमा लगानी बढ्ने र यहाँको आर्थिक गतिविधि चलायमान पनि हुनेछ भने यहाँ हुने उत्पादनको बजारीकरणमा पनि सहयोग पुग्नेछ।
कार्यक्रममा विद्युतीय सवारी मात्रै प्रयोग गर्नुको उद्देश्य के हो?
अहिले पनि धेरैलाई विद्युतीय सवारीसाधन काठमाडौं उपत्यका वा छोटो दूरीको यात्राका लागि मात्रै हो भन्ने छ। त्यो सोच परिवर्तन गर्न जरुरी छ। अब नेपालमा विद्युतको उत्पादन उल्लेख्य रुपमा बढ्दै छ। यसको खपतका लागि विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुको विकल्प छैन। त्यसबाहेक पेट्रोल तथा डिजेल आयातका कारणले भइरहेको व्यापार घाटा कम गर्न पनि विद्युतीय सवारीको प्रयोग जरुरी भइसकेको छ। विद्युतीय सवारी साधनको प्रयोग वातावरणीय हिसाबले पनि राम्रो छ। त्यसबाहेक विद्युतीय सवारी साधनमै बढेर सगरमाथा हेर्न जान सकिन्छ भन्ने सन्देश पनि दिने हाम्रो लक्ष्य छ। त्यसबाहेक यो अन्य सवारीको तुलनामा लक्जरी पनि छ। यसको म्युजिक सिस्टम, एयर कन्डिसन, सिटदेखि सबै हिसाबले यो सुविधासम्पन्न छ।
कार्यक्रममा रुम्झाटारको होमस्टे पनि समावेश छ, यसलाई कसरी प्रवर्द्धन गर्छ भन्ने लाग्छ?
कार्यक्रममा हामीले रुम्झाटारमा होमस्टेमा बास बस्ने भनेका छौं। यसबाट यहाँको होमस्टे प्रवद्र्धनदेखि स्थानीय परिकारको पनि प्रचारप्रचार हुन्छ भन्ने लाग्छ। म आफंै पनि सोही परिवेशमा हुर्किएकाले के भन्न सक्छु भने नेपालका अन्य स्थानको तुलनामा रुम्झाटारका परिकारमा जुन मौलिक स्वाद छ, त्यो निकै भिन्न छ। वरिपरि पहाडले घेरेको रुम्झाटार प्राकृतिक रुपमा पनि निकै सुन्दर छ। त्यहाँका गुरुङ समुदायको आतिथ्य निकै राम्रो छ।