काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यूट्री क्यूर ब्राण्डको आहारपूरक खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न आयातकर्ता र वितरकलाई निर्देशन दिएको छ। विभागले आज आयातकर्ता र वितरकलाई निर्देशन दिएको हो।
विभागका महानिर्देशक संजिव कुमार कर्णका अनुसार, न्यूट्री क्यूर ब्राण्डको आहारपुरक खाद्य पदार्थ ‘आहारपुरक खाद्य पदार्थ नियमन कार्यविधि २०७२’ अनुसार विभागमा दर्ता गरिएको छैन।
साथै, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ बमोजिम विभागबाट यसको आयात अनुमति पनि लिइएको छैन। त्यसैले बजारमा भएका न्यूट्री क्यूर ब्राण्डको आहारपुरक खाद्य पदार्थ तत्काल फिर्ता गर्न निर्देशन दिइएको हो।
विभागका अनुसार भारतको अगुस्तो फर्मुलेशन प्रा.लि.द्वारा उत्पादित आहारपूरक खाद्य पदार्थ बीरगन्ज १३ स्थित न्यूट्रिका फुड कन्सर्नले आयात गरेको र बायो लाइफकेम नेपाल, भिमसेनगोला ३१, काठमाडौंले वितरण गरिरहेको पाइएको छ।
यसरी कानुनविपरीत आयात तथा बिक्री वितरण भएको जानकारी प्राप्त भएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ बमोजिम उक्त उत्पादन फिर्ता गर्न निर्देशन दिएको कर्ण बताउँछन्।
विभागले सम्बन्धित आयातकर्ता र डायटरी सप्लिमेन्ट व्यवसायीलाई न्यूट्री क्यूर ब्राण्डको आहारपूरक खाद्य पदार्थको वितरण तत्काल रोक्नसमेत सूचित गरेको छ। अटेर गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ।