काठमाडौं। नेपाल विद्युत् प्राधिकरण (एनईए) सञ्चालक समितिबाट स्वीकृत भइसकेको श्वेतपत्र अन्तिम समय रोकिएको छ।
ऊर्जामन्त्री दीपक खड्का अध्यक्षताको सञ्चालक समिति बैठकबाट सर्वसम्मतमा पास भएको श्वेतपत्र अन्तिम समय रोकिएको छ। सञ्चालक समितिमा प्रतिवेदनमाथि पर्याप्त छलपल भएर स्वीकृत भए पनि मन्त्रालयभित्रका स्वार्थ समूहका कारण रोकिएको एक सञ्चालकले बताए।
स्रोतका अनुसार, प्राधिकरणले बनाएको प्रतिवेदनमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले कागजी नाफा देखाएको कुरा प्रष्टसँग नखुलेकाले थप कामकारबाही गरेर मात्रै ल्याउन मन्त्री खड्काले पनि निर्देशन दिएका थिए।
तत्कालीन कार्यकारी निर्देशक घिसिङसँगै उच्च व्यवस्थापनमा रहेका केही कर्मचारीको मिलेमतोका कागजी नाफा देखाएको र त्यसलाई अहिले ल्याउन लागेको श्वेतपत्रमा प्रष्टसँग नखुलेकाले खुल्ने गरी प्रतिवेदन बनाएर ल्याउन भनिएको हो।
कर्मचारीले आफू फस्ने डरपछि नाफा, प्राधिकरणको वित्तीय अवस्थालाई प्रष्टसँग ल्याउन नसकेपछि रोकिएको ती सञ्चालकले बताए।
मन्त्री खड्काको टिमले पनि प्राधिकरणको डिडिए गरिरहेको र उनीहरुले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा एनईएल बनाएको प्रतिवेदन मेल नखाएपछि उर्जा मन्त्री तथा बोर्डका अध्यक्ष खड्को निर्देशनमा रोकिएको हो।
मंगलबार सार्वजनिक गर्ने तयारी अनुरुप सोमबारको बोर्डबाट स्वीकृत भइसकेको श्वेतपत्र एकाएक बिहान नगर्न मन्त्रीबाट निर्देशन गएपछि अनिश्चितकालका लागि रोकिएको हो।
प्राधिकरण अध्यक्ष तथा उर्जामन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठले पनि प्राधिकरणमाथि अध्ययन गरिरहेका छन्। प्राधिकरणले गरेका कामबारे छुट्टै प्रतिवेदन बनाइरहेको छ। सिए समेत रहेका श्रेष्ठले बनाएको प्रतिवेदन र श्वेतपत्रबीच मेल नखाएपछि समस्या उत्पन्न भएको थियो।
मिश्रले बनाएको प्रतिवेदनमा घिसिङले देखाएको कागजी नाफाको विस्तृत उल्लेख भएको छ। तर, प्राधिकरणले बनाएको डकुमेन्टमा ती कुराहरु फ्रोकास्ट हुन नसकेपछि रोकिएको मन्त्रालय स्रोतको दाबी छ।
‘कर्मचारीसँग मिलेर कुलमानले गरेको कामलाई ढाकछोप गरेर प्रतिवेदन बनाएको देखियो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘जे देखाउन खोजिएको हो, त्यही नै नआएपछि प्राधिकरणको वास्तविकता बाहिर आउँदैन। श्वेतपत्र ल्याउनु भनेको प्राधिकरणको सम्पूर्ण अवस्थाको जानकारी जनतामा दिनु हो।’