काठमाडौं। गत चैत्र १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा आन्दोलन गरे। आन्दोलन सकिएको एक महिना पुगे पनि यसको चर्चा परिचर्चा हुन छाडेको छैन।
आन्दोलनको जनकमाण्डर मानिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु प्रहरी हिरासतमा छन्। उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकसँगै एक आन्दोलनकारीले न्याय पाउनुपर्ने माग उठिरहेको छ। योसँगै मृतकका परिवारलाई सरकारले जनही १० लाख दिने घोषणा भएको छ।
यीबाहेक गत शुक्रबारदेखि यस विषयले पुनः प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ। पूर्वउपप्रधान मन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटबाट रक्सी चोर्ने व्यक्ति नेपाली कांग्रेसका सहमहामन्त्रीको छोरा भएको दाबी गरेका थिए।
साथै, उनले प्रहरीले रक्सी चोर्ने युवकलाई पक्राउ गरे पनि कांग्रेस नेताको छोरा भएको थाहा पाएपछि अनुसन्धान नगरी छाडेको दाबी गरे।
संसद बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आफू कसैलाई होच्याएर बोल्न नजान्ने बताएका थिए। यस क्रममा उनले राजावादी आन्दोलनलाई सरकारमा बसेकाहरुले हिंसात्मक भएको भाष्य बनाउने प्रयत्न गरेको दाबी गरे। हिंसात्मक प्रदर्शन भने पनि सरकारले एउटा लाठीसम्म निकाल्न नसकेको उनको भनाइ थियो।
विना तथ्य र प्रमाणविना आफ्नो अभिव्यक्ति दिएका राप्रपा अध्यक्ष लिङ्देनलाई आफ्नै बोली भारी बन्न पुगेको छ। उनले बोलेका विषय आधारहिन भएको भन्दै कांग्रेस नेताले संसदमै विरोध जनाए।
‘त्यो आन्दोलन हिंसात्मक भएको भए प्रदर्शनकारीसँग बन्दुक हुनु पथ्र्यो। खुकुरी हुनु पथ्र्यो। लाठी हुनु पथ्र्यो। तपाईंहरुले के खोजी गर्नु भयो?,’ उनले भने, ‘गृह मन्त्री ज्यू, भाटभटेनीको लुटपाटमा सत्तारुढ पार्टीको, तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ पर्नु भएको थियो, किन छाड्नु भो तुरुन्तै? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उस्ले ल्याएको मान्छेले कपडा लिएर गयो, पछि थाहा भो पक्रिएका युवक तपाईंको नेताको छोरा रहेछ, तपाईंहरुले छाड्नु भो।’
विना तथ्य र प्रमाणविना आफ्नो अभिव्यक्ति दिएका राप्रपा अध्यक्ष लिङ्देनलाई आफ्नै बोली भारी बन्न पुगेको छ। उनले बोलेका विषय आधारहिन भएको भन्दै कांग्रेस नेताले संसदमै विरोध जनाए।
आइतबार बसेको संसद बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले लिङ्देनले माफी माग्नुपर्ने बताए। कांग्रेसका सहमहामन्त्रीका छोराको रक्सी चोरीमा संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको उनको दाबी थियो। उनले कांग्रेसको मानमर्दनमाथि लिङ्देन खनिएको बताएका हुन्।
यता, रक्सी चोरी गरेको भन्दै आरोप लगाएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका कान्छा छोरा डा. विवेक यादवले आफ्नो अभिव्यक्ति राखेका छन्। उनले सदनमा राप्रपाका अध्यक्ष लिङ्देनले संसदमा दिएको धारणामाथि खण्डन गरेका छन्।
उनले आफूहरु दुई दाजुभाइ भएको जानकारी दिँदै दाइ भारतमा डाक्टर पढिरहेको बताए। यस्तै, उनी आफै डाक्टर पढाइका लागि घरमा बसेर अध्ययन गरिरहेको जानकारी दिए।
‘म डाक्टर विवेक यादव, एमडी अध्ययनको तयारीका लागि म आफ्नै निजी निवासमा बसेर जानकारी गराउन चाहन्छु, चैत्र १५ गतेको घटनामा हाम्रो कुनै संलग्नता नरहेको जानकारी गराउन चाहन्छु, जुन झुठो आरोप लागिरहेको छ, यदि त्यो आरोपमा राजेन्द्र लिङ्देनसँग प्रमाण भए सदनमा पेश गरी प्रमाण गर्न आग्रह गर्दछु,’ उनले भने।
समाचार छाप्ने मिडिया हाउसले माफी माग्दासमेत राप्रपा अध्यक्ष लिङ्देन मौन रहँदै आएका छन्।
यसैगरी, उनले आफूविरुद्ध लागेको आरोप पुष्टी हुन नसके आफ्नोबारेमा समाचार छाप्ने मिडियासँगै राप्रपा अध्यक्ष लिङ्देनमाथि कारबाही गर्न माग गरेका छन्।
यस्तै, डा. यादवले रक्सी चोरी गरेको समाचार छाप्ने ‘मधेस टुडे’ अनलाइनका सञ्चालकले माफी मागेका छन्। उनले कांग्रेस सहमहामन्त्रीका छोराले रक्सी चोरेको समाचार गलत स्रोतबाट आएकाले छापिन पुगेको भन्दै माफी मागेका हुन्।
‘मधेस टुडे अनलाइनमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँग जोडिएर आएको समाचार हाम्रो संवाददाताबाट बुझ्नमा त्रुटी भएको हुनाले निज नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको गरिमा, प्रतिष्ठामा परेको आँचका लागि दुःख व्यक्त गर्दछौँ,’ मधेस टुडे अनलाइना सञ्चालकले भने।
यता, कांग्रेस पार्टी कार्यालयले पार्टीका सहमहामन्त्री यादवका छोरा राजावादी आन्दोलनका दिन देशमा नभएको जानकारी दिएको छ। समाचार छाप्ने मिडिया हाउसले माफी मागिसकेको छ तर राप्रपा अध्यक्ष लिङ्देन मौन छन्।