काठमाडौं। गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छिन्। उनले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी छन्।
मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक एक लाख बढी आम्दानी लिने गरेको कोइराला बताउँछिन्। “११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती सुरु गरेकी हुँ। अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु”, उनले भनिन्।
तरकारीखेतीमा सिँचाइ अभाव र बाँदरले सताउने गरे पनि आफ्नो कर्म नछाडेको उनी बताउँछिन्। मीनाको श्रीमान् दुबईमा वैदेशिक रोजगारीमा छन्। जेठी छोरी पनि दुबईमै नर्सिङ पेसामा छिन्।
“कान्छी छोरी काठमाडौं डेन्टल पढ्छे। छोरो यो वर्ष कक्षा ९ मा पुग्यो”, उनले भनिन्, “मेरो कमाइले छोरा छोरी पढाउन, घरखर्च चलाउन पुग्छ। जे होस् अहिलेसम्म अरूसँग हात फैलाउनु परेको छैन।”
यतिखेर उनको बारीमा अहिले ढकमक्क बन्दागोभी छ। काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ। “बन्दापछि काँक्रो, करेलालगायत अन्य मौसमी तरकारीहरुको ‘सिजन’ सुरु हुन्छ। त्यसपछि प्याजको बीउ तयार गर्छु”, उनले भनिन्, “विषादी प्रयोग गर्दिनँ।”
उनका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारीखेती गर्ने चलन थिएन। जब उनले तरकारी खेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरुले उनकै सिको गरे। उनी महिलाहरुले पनि केही न केही पेसा वा व्यवसाय गरे श्रीमान्को कमाइमा निर्भर हुनु नपर्ने बताउँछिन्।