चितवन। १ अर्ब १२ करोड लागतमा निर्माण सम्पन्न भएको भरतपुरको गोन्द्राङदेखि पुल्चोक नारायणगढसम्मको ६ लेन सडक प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओली, उपप्रधान एवंम सहरी विकास मन्त्री प्रकाशमान सिहं र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले संयुक्त रुपमा रिवन काटेर सडकको उद्धघाटन गरेका हुन्।
सडक आयोजना सगुन कन्स्ट्रक्सन प्रालिले सडक बिस्तार गरेको हो। एसियन मापदण्डको हाइवेअन्तर्गत ६.०८ किलोमिटर लामो सडक निर्माणको काम गत पुस २८ गते नै सकिएको थियो।
प्रालिले सडक निर्माणको काम सकेर सडक डिभिजन कार्यालय भरतपुरलाई हस्तान्तरणसमेत गरिसकेको छ। सडकको दायाँबायाँ ११.५र११.५ मिटरको पिच गरिएको छ। त्यसको बिचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ।
मेडियनमा दूबो लगाउने र आकर्षक फूलहरुका बिरुवा रोप्ने काम भएको छ। सर्भिस लेन बाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ।
पहिले दुई लेन मात्रै रहेको सडकलाई बिस्तार गरेर बीचमा चार लेन र दुबै साइडतर्फ थप १ र १ सर्भिस लेन तयार गरिएको छ। सडक बिस्तारसँगै दुबै तर्फ ६ सय बत्ती जडानको काम पनि सकिएको छ।
५० मिटर चौडाइ रहने ६ लेन सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विद्युत अन्डरग्राउन्ड गरिएको छ। चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुंगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जाने गरी ड्रेन तयार गरिएको छ। नारायणगढ–गोन्द्राङ ६ लेन सडक निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले नै २०७७ माघ २७ गते शिलान्यास गरेका थिए।