काठमाडौं। खेर गइरहेको केराको थामबाट व्यवसायिक धागो उत्पादन गर्ने गरी रिलायन्स स्पिनिङ मिल्सले परीक्षण सुरु गरेको छ। तीन दशकदेखि धागो उत्पादन गरेको उद्योगले स्वदेशी कच्चा पदार्थलाई उपयोग गरी पहिलो पटक केराको थामबाट धागो उत्पादन गर्न परीक्षण सुरु गरेको हो।
कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्यानले उद्योगमा परीक्षणका रुपमा केराको थामबाट धागो उत्पादन सुरु गरिएको जानकारी दिए। ‘किसानसँग प्रत्यक्ष जोडिएको केराको थामबाट व्यवसायिक रुपमा धागो उत्पादन गर्न सकिन्छ कि भनेर उत्पादन सुरु गरिएको छ,’ उनले भने, ‘सफल भए हामीलाई मात्र हैन सिंगो किसानलाई फाइदा हुन्छ।’
परीक्षणका लागि तीन/चार महिनादेखि उत्पादन सुरु भएको छ। ‘१०० प्रतिशत नै केराको थामबाट धागो उत्पादन गर्न नसकिने रहेछ,’ प्रबन्ध निर्देशक गोल्यानले भने, ‘अन्य कच्चा पदार्थसँग मिलाएर उत्पादन गर्नुपर्ने देखिन्छ। विदेशमा केराबाट उत्पादन भएको धागोको उच्च माग छ।’
केराबाट उत्पादन भएको धागोको माग विदेशमा उच्च रहे पनि पर्याप्त मात्रामा उत्पादन गर्न सक्ने स्थिति नरहेको उनको भनाइ छ। केराको थामलाई प्रशोधन गरी आवश्यक कच्चा पदार्थ बनाउन सकिए पनि बजारको मूल्य र उत्पादन लागत तय हुन बाँकी रहेकाले के हुन्छ भन्ने स्थिति नरहेको उनले बताए।
अबको तीन/चार महिनाभित्र केराको थामबाट व्यवसायिक रुपमा धागो उत्पादन गरी बिक्री वितरण गर्न सकिन्छ वा सकिदैन भन्ने टुंगो लगाउने उद्योगको तयारी छ। धागो उत्पादन सम्भव भए पनि केराको थाम जुटाउन सम्भव हुन्छ वा हुँदैन? भन्ने विषयमा आवश्यक अध्ययन भइरहेको प्रबन्ध निर्देशक गोल्यानको भनाइ छ। यदि, कम्पनीलाई सहज हुने अवस्था भए केराको थामबाट धागो उत्पादन गर्न आफूहरू तयार रहेको उनको भनाइ छ।
सफल भए किसानलाई फाइदा
व्यवसायिक रुपमा केराको थामबाट धागो उत्पादन सफल भए किसानलाई फाइदा हुनेछ। केरा काटेपछि कुहाएर जाने थामबाट किसानलाई थप आम्दानी हुनेछ। ‘प्रत्यक्ष रुपमा किसानलाई फाइदा हुने भएकाले पनि सकेसम्म केराको थामबाट धागो उत्पादन गर्न खोजिरहेका छौँ,’ उनले थपे, ‘हामीलाई त्यहाँबाट नाफा हैन सञ्चालन खर्च उठे पनि हुन्छ।’
जापान र कोरियामा अल्लोको धागो
विगत तीन/चार वर्षदेखि अल्लोबाट उत्पादन भएको धागो जापान र कोरियालगायत मुलुकमा बिक्री गरिरहेको उनले बताए। अहिले महिनाको १० टनभन्दा बढी धागो ती मुलुकमा निर्यात भइरहेको उनको भनाइ थियो।
अहिले अल्लोको डाँठ किनेर रिलायन्सले आफ्नै उद्योगमा प्रशोधन गर्दै आएको छ। अल्लो पनि पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुँदै आएको छ। केही निजी वन र केही सामूदायिक वनमा उत्पादन हुने अल्लो प्रयोग हुँदै आएको छ।
२०५४ सालमा स्थापना भएको रिलायन्स उद्योगमा १५ अर्ब लगानी छ। उद्योगमा ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत तेस्रो मुलुकमा निर्यात गर्दै आएको छ।
सुनसरीमा कम्पनीको धागो कारखाना सञ्चालन छ। उद्योगले ऊन धागो, सुती (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ। रिलायन्समा उद्योगी शशीकान्त अग्रवाल र पवन गोल्यानको संयुक्त लगानी छ।