काठमाडौं। उद्योगी शशिकान्त अग्रवालले होटल सञ्चालनमा ह्याट्रिक गरेका छन्। नक्सालस्थित मनकामना मार्गमा पाँचतारे होटल काठमाडौं म्यारियट, ठमेलमा चारतारे होटल फेयरफिल्ड सञ्चालन गर्दै आएका उद्योगी अग्रवालले कमलादीमा अर्को चारतारे होटल मोक्सी मेरिअट निर्माण सम्पन्न गरेका छन्।
योसँगै अग्रवालले होटल निर्माण तथा संचालनमा ह्याट्रिक गरेका हुन्। तीनवटै होटल एमएस ग्रुप अन्तरगत एभरेष्ट हस्पिटालिटी मार्फत सञ्चालन भइरहेको छ।
मोक्सी वैशाखभित्रै सञ्चालनमा आउने
औपचारिक रुपमा उद्धघाटन नगरिएपनि किचनको काम भने अहिले सुरु भैसकेको छ। २ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलको लागत करिब २ अर्ब पुगेको जनाएको छ।
मेरिअटकै ब्रान्ड मोक्सी विशेषगरी युवावर्ग तथा विदेशी पाहुना लक्षित हो। सञ्चालन पनि मेरिअटले नै गर्ने छ। फेन्सी तथा रमाइलो चाहने युवावर्ग लक्षित यो होटलमा ड्रमसेट म्युजिक चलिरहन्छ। यहाँ प्रवेश गर्नेबित्तिकै अरू होटलमा जस्तो रिसेप्सन हुँदैन। यसको सट्टा बार हुन्छ। युवा वर्गकै लागि भनेर कोठामा कपडा राख्ने दराज नराखी डोरी टाँगिने छ।
होटलमा रहेका अधिकाशं कोठाहरु डिलक्स रहेको छ। यस्तै ग्राहकलाई फरक फरक स्वाद चखाउनका लागि तीन वटा रेष्टुरेन्ट सञ्चालन हुने छ। यस्तै १० औं तलामा रहेको रेष्टुरेन्टबाट काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्दै मदिराको स्वादमा लठ्ठिन पाउने सञ्चालकको दाबी छ।
मोक्सी होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिक अवस्थित रहेको छ। होटलमा १ सय ८ वटा स्मार्ट र स्टाइलिस बेडरुम रहेको छ। विशेषगरी युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकोले परम्परागत होटलभन्दा फरक र ह्यापेनिङ हुने बताइएको छ। होटलमा बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बार लगायतको सेवाहरू समावेश गरिनेछ। त्यस्तै फिटनेस सेन्टर, आउटडोर पुल पनि रहने छन।
काठमाडौं मेरिअटको सफलतापछि हौसिएका शशिकान्त
अनेकौ चुनौतीका बीच पाँचतारे होटल काठमाडौं मेरिअट सञ्चालनमा ल्याएका अग्रवालले कोभिड १९ को बीचमा समेत राम्रो व्यापार गर्न सफल भए।
खासगरी कोभिडको बीचमा पनि एकदिन बन्द नगरी सावधानीपूर्वक सञ्चालन गरेर स्वदेशी एवंम विदेशी पर्यटकहरुको मूख्य रोजाईको रुपमा मेरिअटलाई बनाउन सफल भएका अग्रवालले त्यस लगत्तै मोक्सी होटल बनाउन तम्सिएका थिए।
पछिल्लो समय सञ्चालनमा आएका होटलहरु मध्ये मेरिअट र फेयरफिल्डले नाफा कमाउदै विगत केहि वर्षदेखि कर्मचारीलाई बोनस समेत बाढ्न सुरु गरिसकेको छ।