काठमाडौं। व्यावसायिक घराना आइएमई ग्रुप र एभरेस्ट ग्रुपको संयुक्त लगानीमा पेपर मिल (कागज कारखाना) सञ्चालनमा आउने भएको छ।
कागज कारखाना चलाउन दुई ग्रुपले १ अर्ब ४० करोड रुपैयाँ लगानी गर्दैछन्। ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ का नाममा कागज कारखाना सञ्चालनमा आउन लागेको हो।
कूल लागतमध्ये ८० प्रतिशत बैंक ऋण र बाँकी २० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहने छ। उद्योगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एभरेष्ट बैंकले ऋण लगानी गरेका छन्।
सन् २०२१ जनवरी २० मा स्थापना भएको नेपाल पल्प एन्ड पेपरको पूर्वाधार निर्माण भइरहेको छ। २०२१ अगस्टदेखि उद्योगको पूर्वाधार निर्माण सुरु भएको थियोे।
उद्योगको सिभिल संरचना निर्माण लगभग सकिएको छ भने अधिकांश उपकरण साइट पुग्ने क्रम जारी छ। नेपाल पल्प छिट्टै सञ्चालनमा ल्याउने तयारी छ।नेपाल पल्प मधेश प्रदेशको महोत्तरी जिल्ललाको राम नगरमा ११ विघाह जग्गा खरिद गरेर कागज उत्पादन गर्ने उद्योगको पूर्वाधार बनाइरहेको छ।

उद्योगले १ अर्ब ३८ करोड ९१ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। उद्योगको उत्पादन क्षमता वार्षिक २१ हजार टन छ। उद्योगले उच्चगुणस्तरको लेख्न र प्रिन्टिङ पेपर उत्पादन गर्ने भएको छ।
उद्योगमा आईएमई समूहको ४० प्रतिशत सेयर लगानी रहेको छ। सर्राफ समूहको ३० प्रतिशत लगानी छ। जसअनुसार नेपाल पल्पमा ओम क्यापिटल होल्डिङ्स प्रालिको ३५ प्रतिशत हिस्सा छ।
यस्तै सुनिल गोपाल र होमनाथ ज्ञवालीको १५/१५ प्रतिशत, सुमन पोखरेल, गोविन्दकुमार सर्राफ, गौतम सर्राफको जनही ५ प्रतिशत हिस्सा छ। उद्योगको अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन्। ढकाल आइएमई ग्रुप र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन्।
आइएमई ग्रुप, बैंकिङ, रेमिट्यान्स, बिमा, जलविद्युत, केबुलकार, होटल बिजनेसमा संलग्न छ। उद्योगको अर्को साझेदार एभरेस्ट ग्रुप पेपर मिल, वायर्स, मेटल, राइस मिलल्स र औषधी व्यवसायमा संलग्न छ।
एभरेष्ट ग्रुपले एभरेष्ट पेपर मिल्स प्रालि सञ्चालन गर्दै आएका छ। सर्राफसँग यस क्षेत्रको बारेमा लामो अनुभव रहेको छ।