काठमाडौं। निजी लगानीमा स्थापना भएको पुरानो औषधी उद्योग मध्यको एक टाइम फर्मास्युटिकल्स प्राइभेट लिमिटेडको व्यापार बढ्दै गएको छ। टाइमको सन् २०२२ मा औषधी व्यापार २५ प्रतिशत बढेर ९९ करोड रुपैयाँ पुगेको छ।
२०२१ मा उद्योगले विभिन्न ब्राण्डका औषधिहरु बेचेर ७९ करोड ११ लाख रुपैयाँ व्यापार गरेको थियो। एक वर्षको अवधिमा टाइमको औषधी व्यापार झण्डै २० करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीले औषधी बिक्री रणनीतिमा परिमार्जन गर्नुका साथै कोभिड महामारीको अन्त्य भएकाले उत्पादन तथा व्यापार दुबै बढेको जनाएको छ।
टाइमको स्थिर अपरेटिङ मार्जिन रहेको छ, जसले समयको बजार स्थिति र यसको उत्पादनको मागमा सकारात्मक रूपमा प्रतिबिम्बित गर्दछ।
यसले नियन्त्रित लाभांश नीतिसँग मिलेर कम्पनीलाई समग्र न्यून गियरिङ अनुपात कायम राख्न मद्दत गरेको छ।
२०२० मा टाइमले ६८ करोड ६३ लाख रुपैयाँको औषधी व्यापार गरेको थियो । यसैगरी २०१९ मा ६६ करोड ३८ लाख, २०१८ मा ७२ करोड र २०१७ मा ६५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। वित्तीय विवरण हेर्दा उद्योगको औषधी व्यापार वर्षेनी बढ्दै क्रममा छ।
टाइमले उत्पादन गर्ने औषधीको अहिले बजारमा माग बढेको र बजार हिस्सा पनि विस्तार हुँदै गएको छ। कम्पनीको मुलुकभर २ सय भन्दा बढी औषधी वितरणहरु रहेका छन्। जसमध्ये १० वितरकको हिस्सा २२ प्रतिशत रहेको टाइमले जनाएको छ।
२०२१ मा २१ प्रतिशत अंश थियो। कम्पनीले आफ्नो उत्पादनको दायरा विभिन्न चिकित्सकीय क्षेत्रहरूमा विस्तार गर्दै आएको छ। जसले आगामी वर्षमा दिगो आम्दानी वृद्धिको लागि सकारात्मक रहने देखिएको छ।
टाइमले ६० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
कम्पनीले एन्टिबायोटिक, एन्टिकोल्ड, सप्लिमेन्ट, एनाग्लास्टिक र एन्टिडाइबेटिक औषधीहरु उत्पादन गर्दै आएको छ। औषधी उत्पादन गर्न कम्पनीले आवश्यक विभिन्न कच्चा पदार्थ र प्याकेजिङ्ग सामाग्रीहरु विदेशबाट आयात गर्दै आएको छ।
नेपालमा धेरै औषधी उद्योग भएकाले आन्तरिक बजारमा औषधीमा प्रतिस्पर्धा देखिएको छ। टाइमले पनि आन्तरिक बजारमा प्रतिस्पर्धाको सामना गर्नुपरेको जनाएको छ।
नेपालको निजी क्षेत्रको पुरानो औषधी उद्योगहरुमध्ये एक टाइम सन १९९४ मा स्थापना भएको हो। उद्योगले १९९७ देखि व्यवसायिक रुपमा औषधी उत्पादन थालेको हो।
उद्योग सञ्चालनमा आएको २६ वर्ष पुगेको छ। टाइमका संस्थापकहरु औषधी व्यवसायमा संलग्न रहेका छन्। कम्पनीको कार्यकारी अध्यक्षमा नारायणबहादुर क्षेत्री छन्। कम्पनीमा उनको १० प्रतिशत हिस्सा रहेको छ । टाइममा ४३ जना सेयर होल्डर छन्।