काठमाडौं नेपाल घरेलु तथा साना उद्योग महासंघले ‘नेपालमा लघु, घरेलु तथा साना उद्योग विकासका लागि कानुनी र प्रक्रियागत सुधार’ विषयमा नीतिगत संवाद आयोजना गरेको छ।
महासंघले युएसएआइडी ट्रेड एन्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा नेपालमा लघु, घरेलु तथा साना उद्योग विकासका लागि कानुनी तथा प्रक्रियागत सुधारसम्बन्धी नीतिगत संवाद आयोजना गरेको हो।
कार्यक्रममा सरकारी तथा निजी क्षेत्र दुवैको सहभागिता थियो। संवाद मुख्यतया नीतिगत र प्रक्रियागत बाधाका तीन विशेष क्षेत्रमा केन्द्रित थियो।
व्यवसायका लागि वान–स्टप सर्भिस सेन्टर, नेपाली उत्पादनका लागि अनलाइन प्रदर्शनी केन्द्र र सार्वजनिक खरिदमा नेपाली उत्पादनलाई प्राथमिकतालगायत विषयमा संवाद केन्द्रित भएको आयोजकले जनाएको छ।
कार्यक्रममा उद्यमका लागि झन्झट र सञ्चालन लागतलाई उल्लेखनीयरूपमा घटाउन एकद्वार सेवा केन्द्र प्रावधानका विषयमा छलफल भएको थियो। यसमा दर्ता, नवीकरण, कर भुक्तानी र अन्य वैधानिक आवश्यकता समावेश छन्।
छलफलमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले विभिन्न तहका सरकारलाई दिइएको संवैधानिक भूमिका र कार्यादेशअनुसार हामीले एकद्वार केन्द्रको छातामुनि कस्ता सेवा समेट्ने परिकल्पना गरेका सेवा के–के हुन् भनेर पहिले परिभाषित गर्नु महत्वपूर्ण रहेको बताए।
त्यसैगरी नेपाली उद्यमको बजार पहुँच अभिवृद्धि गर्न अनलाइन प्रदर्शनी केन्द्र प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो। महासंघसँगको सहकार्य र संयुक्त प्रयासलाई नेतृत्वदायी भूमिकामा नेपाली उत्पादनको बजारमा पहुँच बढाउने सम्भावित उपायमध्ये एकक रूपमा पहिचान गरिएको आयोजकले जनाएको छ।
पूर्वअर्थ सचिव शिशिर ढुंगानाले स्थानीय उत्पादनमा समर्पित अनलाइन प्रदर्शनी केन्द्र प्रावधानले उपभोक्तालाई नेपालमा बनेका उत्पादन र सेवा स्पष्ट खोज्न सक्षम बनाउने बताए।
कार्यक्रममा सार्वजनिक खरिदमा स्वदेशी वस्तु वद्धि गर्ने व्यवस्था कार्यान्वयन गर्न चुनौतीका विषयमा छलफल भएको थियो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक खरिदमा १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने विद्यमान निर्देशिका स्पष्टतामा थप परिमार्जन गर्नुपर्ने बताए।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले यस कार्यक्रमलाई नीतिनिर्माता, नीति कार्यान्वयनकर्ता र निजी क्षेत्रलाई एकै ठाउँमा ल्याउने सबैभन्दा अन्तरदृष्टिपूर्ण र प्रभावकारी कार्यक्रम भएको बताए।