काठमाडौं। चालू आर्थिक वर्ष नौ महिना (साउनदेखि चैतसम्म) मा मूल्यवृद्धि ७.७६ प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नौ महिना अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत पुगेको हो। अघिल्लो वर्ष सोही महिना भने मूल्यवृद्धि ७.२८ प्रतिशत थियो।
राष्ट्र बैंकको तथ्यांकअनुसार यो महिना खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.४२ प्रतिशत छ।
त्यस्तै खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।
काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मूल्यवृद्धि रहेको तथ्यांकले देखाएको छ।
चैतमा यी क्षेत्रमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मूल्यवृद्धि थियो।