काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्ना स्वार्थका विषय सम्बोधन नहुँदैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न नमिल्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘नेपाल बिजनेस सबमिट–२०२३’को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
‘आफ्ना स्वार्थका विषय सम्बोधन भएको छैन भन्दैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न मिल्दैन,’ अधिकारीले भने, ‘राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैको हितमा आवश्यक नीतिगत निर्णय गरिरहेको छ।’
नेपालका वित्तीय क्षेत्र निकै सुरक्षित भएकोका कयौं विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेको गभर्नर अधिकारीले बताए।
‘धेरैले कुरा गर्नुहुन्छ पछिल्लो समय आर्थिक तरलताले धेरै अप्ठेरो पार्याे भनेर। तर केही दिनदेखि तरलता धेरै नै सहज अवस्थामा आएको छ,’ गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकको बिहीबारसम्मको तथ्यांक हेर्दा पनि राष्ट्र बैंकबाट बैंक तथा वित्तिय संस्थाको एसएलएफ (स्थायी तरलता सुविधा) र ओभरनाइट सुविधाहरु लगभग शून्य छ।’
उनले यही आर्थिक वर्षको भदौ २५ सम्मको तथ्यांकअनुसार राष्ट्र बैंकबाट यस्ता सुविधा २ सय ९९ अर्ब थियो।
बैंक तथा वित्तीय संस्थाले एसएलएफ लगायतका उपकरणमार्फत् पछिल्लो डेढ महिनादेखि एक रुपैयाँ पनि नलिएकाले बैंकिङ प्रणालीमा तरलता अभाव छ भन्न नमिल्ने अधिकारीले बताए।
‘बैंकलाई तलरताको अभाव भएको भए उहाँहरुले हामीसँग पैसा लिनु हुन्थ्यो। उहाँहरु पैसा लिन आउनु भएको छैन भन्नुको अर्थ बजारमा तरलता अभाव छैन भन्ने हो,’ अधिकारीले भने, ‘वित्तीय प्रणाली सबल नहुँदासम्म समग्र आर्थिक सुधार हुन सक्दैन। सबल वित्तीय प्रणाली बनाउन केन्द्रीय बैंकले जिम्मेवार भएर काम गरिरहेको छ।’
उनले बचतकर्ता र निक्षेपकर्ता दुवैलाई राष्ट्र बैंकले सुरक्षा प्रदान गर्ने बताए।
‘बचतकर्तालाई कुनै पनि हालतमा सुरक्षित गर्छौ, हामी निक्षेपकर्ताहरुलाई पनि कुनै हालतमा सुरक्षित गर्ने काम गर्छौं,’ अधिकारीले भने, ‘अहिलेको विभिन्न तथ्यांक र अवस्थाले पनि हामी सुरक्षित गर्न सक्छौं भन्ने कुरा देखाइरहेको छ। सँगैसँगै बचतकर्ता र निक्षेपकर्ता सबैलाई हामीले सुरक्षित गर्छौं।’
उनले व्यवसाय नबाँचे बैंक पनि बाँच्न नसक्ने र अर्थतन्त्र नबाँचे बैंक पनि बाँच्न नसक्ने बताए।
‘यदि बैंक बाँचेन भने सो व्यवासयीले सहि सेवा पनि पाउन सक्दैन। यसर्थ दुईटै बाँच्नुपर्छ,’ उनले भने, ‘यही धारणाका साथ हामीले कोरोना महामारीको समयमा काम गरेका थियौं।’ अधिकारीले नेपाल राष्ट्र बैंकले लिने नीतिहरु गहन छलफलपछि लिने नीतिहरु भएको दाबी गरे।