काठमाडौं। बजेट बनाउनु २५ दिनअघि अर्थसचिवका रूपमा अर्जुन पोखरेल भित्रिएपछि अर्थ मन्त्रालयका कर्मचारीमा एकप्रकारको संशय पैदा भएको छ।
चालू आर्थिक वर्षको बजेटमा अनावश्यक व्यक्तिहरूको प्रवेशका कारण विवाद र राजस्व असुलीमा दबाब झेलेका अर्थका कर्मचारी आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि कतै समस्या आउने त होइन भनेर झस्किन पुगेका छन्।
मुलुकको आर्थिक अवस्था असामान्य स्थितिमा छ। यस्तो बेला आगामी वर्षको बजेटको अन्तिम तयारी भइरहेको छ। तर, अर्थसचिव भने अर्थमन्त्री डा. प्रकाशशरण महतको रोजाइको नभएर ‘कहीँबाट आफ्ना कार्य फत्ते गर्न पठाइएको’ ढंगले प्रवेश गरेका छन्।
आगामी वर्षको बजेटमा अर्थमन्त्रीभन्दा अर्थसचिव बढी हावी हुने हुन् कि भन्ने डर कर्मचारीमा छ। प्रतिकूल परिस्थितिमा बन्न लागेको बजेटमाथि जिम्मेवार, निडर र निर्ममरूपमा प्रस्तुत हुनसक्ने, अर्थमन्त्रीभन्दा माथिल्लो निकायले भनेको कुरा पनि इन्कार गर्न सक्ने व्यक्ति चाहिनेमा एकाएक पोखरेलको आगमनलाई धेरैले अर्थमन्त्री निरीह र वाह्य व्यक्ति प्रभावशाली हुने त होइन भन्ने शंका कर्मचारीबीच व्याप्त छ।
त्यसै पनि अर्थमन्त्री महतलाई अहिले ‘भाउजु’ (पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा) को ‘एस म्यान’ का रूपमा व्याख्या गरिन्छ। त्यसमाथि अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलसहितका आर्थिक सल्लाहकार समूहका कारण अर्थमन्त्री बाहिरबाटै सञ्चालित हुने आक्षेप लागिरहेकै छ।
यस्तो बेला अर्थमन्त्री महतको इच्छाविपरीत पोखरेल अर्थ मन्त्रालय भित्रिएपछि उनले आफ्नो प्रदर्शन गर्न नसक्ने र देखावटी अर्थमन्त्रीका रूपमा रहने चर्चा सुरु भएको छ।
अर्थमन्त्री महत बाहिर देखिएका सबै आधार खारेज गरी आगामी बजेटबाट आफ्नो निखारिएको छवि प्रस्तुत गर्न चाहन्छन्। तर, अर्थ मन्त्रालय बाहिरबाटै बढी घेरिएका कारण अर्थमन्त्री महत पनि दबाबमा छन्।
अर्थमन्त्री महत अर्थतन्त्र बुझेको, प्रधानमन्त्री, अर्थमन्त्री तथा अन्य मन्त्रीलाई पनि वर्तमान अवस्थाबारे ‘कन्भिन्स’ गराउन सक्ने सचिव ल्याउन चाहन्थे र उनका सहयोगी तथा सल्लाहकार पनि अब्बल अर्थसचिव ल्याउन सुझाइरहेका थिए।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल र योजना आयोगका सचिव केवलप्रसाद भण्डारीको नाम चर्चामा ल्याइएको थियो।
तर, अर्थमन्त्री महतको चाहनामा प्रधानमन्त्री पुष्पकमल दाहाल तथा पूर्वप्रधानमन्त्री देउवा सहमत नहुँदा निवर्तमान अर्थसचिव तोयम रायालाई नै निरन्तरता दिने पक्षमा थिए। दाहाल–देउवाले अर्का सचिव कृष्णहरि पुष्करलाई अर्थसचिव बनाउन चाहे पनि मध्यमार्गी बाटो पछ्याउँदै पोखरेललाई अर्थमन्त्री महतको इच्छाविपरित अर्थ मन्त्रालय पठाइएको चर्चा छ।
पोखरेल अर्थतन्त्रबारे खासै जानकार व्यक्ति होइनन्। त्यसैले पनि पोखरेलको आगमनसँगै आगामी वर्षको बजेट चालू वर्षकै बजेटको ‘भर्सन–२’ आउने त होइन भनेर मन्त्रालयका कर्मचारी सशंकित छन्।
चालू आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि बजेट निर्माणमा बाहिरिया व्यक्तिको दबदबा रहेको भनेर व्यापक चर्चामात्रै भएन, संसदले जाँचबुझ समिति नै बनाउनुपरेको थियो।
प्रतिनिधिसभाले बजेट बनाउँदा बाहिरिया व्यक्ति प्रवेश गरेको विषयमा ११ सदस्यीय जाँचबुझ समिति बनाउँदा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा समेत दिए।
अन्तिम समयमा अर्थसचिव मधुकुमार मरासिनी बिदामै बसे र शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालय आए भने शर्मा पुनः अर्थमन्त्री बनेपछि मरासिनीले अर्थ मन्त्रालय छाडे। त्यसपछि राजस्व सचिव कृष्णहरि पुष्कर अर्थसचिव बने।
खासगरी अर्थमन्त्री शर्माले बजेट बनाउँदा बाहिरिया व्यक्तिको प्रवेश गराएको र त्यसलाई सचिवद्वय मरासिनी र पुष्करले निसंकोच साथ दिएको भनेर सचिवद्वयको व्यापक आलोचना भयो।
अहिले पनि त्यतिबेला बजेटमार्फत चलाइएका अनावश्यक करका दरका कारण राजस्व असुलीमा समस्या आएको भन्ने गरिन्छ।
अर्थमन्त्री शर्माले बाहिरी व्यक्तिहरू भित्र्याएर बजेटमा मनपरी गर्दा सचिवहरू ‘दूधको साक्षी बिरालो’ बनेर बाहिरिया व्यक्तिलाई आफूखुसी गर्न दिएकोमा अहिले पनि आलोचना हुने गरेको र उनीहरूको क्षमतामाथि प्रश्न उठिरहेको छ।
पछिल्ला वर्ष बजेट बनाउँदा असान्दर्भिक व्यक्तिहरू (स्वार्थसमूह) हाबी हुँदै आएको छ र आगामी वर्षको बजेट पनि सोही मुताविक बनाउने सर्तमा पोखरेललाई अर्थसचिवका रूपमा भित्र्याइएको भनेर अर्थ मन्त्रालयमा व्यापक चर्चा छ।
‘अन्तिम घडीमा जसरी अर्जुन पोखरेललाई अर्थसचिव बनाइएको छ, त्यसले धेरै अर्थ दिन्छ। बजेट ल्याउन २५ दिन बाँकी रहँदा सचिव परिवर्तन गर्नुपर्ने कुनै कारण छैन,’ अर्थका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘अर्थमन्त्री आफूलाई दाजु डा. रामशरण महतको लिगेसी धान्ने गरी बजेट ल्याउने क्षमता राख्छन् कि सम्पूर्णरूपले स्वार्थ समूहमा समाहित हुन्छन्, आगामी बजेटले नै देखाउने छ।’