काठमाडौ। अर्थतन्त्र मापन गर्ने विभिन्न १८ क्षेत्रमध्ये उद्योग, निर्माण, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा विस्तार ऋणात्मक हुँदा समग्र अर्थतन्त्र संकुचित बन्न पुगेको छ।
समग्र अर्थतन्त्रमा करिब २६ प्रतिशत हिस्सा ओगट्ने यी तीन क्षेत्रको गिरावटका कारण मुलुकको आर्थिक वृद्धि (आधारभूत मूल्यमा) २.२ प्रतिशत बिन्दुमा सीमित भएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अरू १५ क्षेत्रमा राम्रै वृद्धि हुँदा पनि एक चौथाइ हिस्सा ओगट्ने क्षेत्र ऋणात्मक हुँदा आर्थिक वृद्धिको पूर्वानुमान असफल भएको हो।
यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व बैंक, एसियाली विकास बैंक (एडिबी) लगायतले नेपालको आर्थिक वृद्धि ४ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका थिए।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रतिकूल परिस्थितिको सम्भावना देख्दादेख्दै बजेटमार्फत ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएका थिए।
अर्थतन्त्रमा ५.३२ प्रतिशत योगदान रहेको उद्योग क्षेत्र २.०४ प्रतिशत ऋणात्मक देखिएको छ। त्यस्तै, ५.५२ प्रतिशत हिस्सा भएको निर्माण क्षेत्र पनि २.६२ प्रतिशतले ऋणात्मक छ।
अर्थतन्त्रमा १५.३९ प्रतिशत योगदान गर्ने थोक र खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्र पनि २.९६ प्रतिशत ऋणात्मक छ। अर्थतन्त्रमा २४.१३ प्रतिशत योगदान रहेको कृषि क्षेत्र २.७३ प्रतिशत ऋणात्मक छ।
यस अवधिमा अर्थतन्त्रमा न्यून हिस्सा (१.६४ प्रतिशत) रहेको विद्युत, ग्यास तथा सेवा सबैभन्दा धेरै १९.३६ प्रतिशत वृद्धि भएको अनुमान छ। ७.३७ प्रतिशत योगदान रहेको वित्तीय तथा बिमा क्षेत्र पनि ७.२९ प्रतिशत वृद्धि हुने अनुमान छ।
सतहमा घरजग्गा कारोबार व्यापक कटौती भएको शंका गरिए पनि वास्तविक त्यस्तो देखिएन। अर्थतन्त्रमा ८.३७ प्रतिशत योगदान गर्ने घरजग्गा कारोबारको सेवा सामान्य (२.१७ प्रतिशत) बढ्ने कार्यालयको अनुमान छ।