काठमाडाैं। लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडिबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सिपिथिप्री) प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ प्रारम्भ भएको छ।
प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ।
उक्त प्रशिक्षण कार्यक्रममा कर्मचारी र परामर्शदातालाई सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन हुने परियोजनाबारे विस्तृत जानकारी गराउने उद्देश्य रहेको बोर्डले जनाएको छ।
'सार्वजनिक–निजी साझेदारीका परियोजना तयारी, विकासकर्ता छनौट तथा परियोजना व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। साथै पीपीपीका नवीनतम अवधारणासहितका परियोजना कार्यान्वयनमा सहयोगी हुने अपेक्षा गरिएको छ,' लगानी बोर्डद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पिपिपी परियोजना कार्यान्वयनका लागि लगानी बोर्डको कार्यालय विशिष्टिकृत निकाय भएकाले कर्मचारीका लागि यस्तो प्रशिक्षण आवश्यक रहेको बताए।
'पिपिपी अवधारणाका परियोजना सफलतापूर्वक अघि बढाउन परियोजनाको तयारी, जोखिम न्यूनीकरण, खरिद प्रक्रिया एवं कार्यान्वयन तथा सञ्चालनका सम्पूर्ण चक्रमा दक्षता र विशेषज्ञता आवश्यक पर्छ,' उनले भने।
परियोजना विकासमा पिपिपी अवधारणा आफैंमा जटिल विषय रहेको चर्चा गर्दै प्रमुख कार्यकारी अधिकृत भट्टले यसका लागि सबल जनशक्ति आवश्यक रहेको बताए। पिपिपी सर्टिफिकेसन कार्यक्रमा आधारभूत, तयारी र कार्यान्वयन गरी तीन चरण समावेश छन्। अहिले आयोजना भइरहेको कार्यक्रम आधारभूत चरणअन्तर्गतको हो।