काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पोडेलले स्वदेशी उत्पादनको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता भएकाे बताएका छन्।
औद्योगिक प्रदर्शनीको समापन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पाैडेलले यस्ताे बताएका हुन्। स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको उनकाे भनाइ छ । मेलाले देशभरकै उद्यमीहरुलाई आफ्ना उत्पादनको प्रचार प्रसारमा सहयोग पुर्याउने भन्दै उने भने, “देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ ।” घरेलु उद्यमी तथा उनीहरुका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा नेपाल सरकार अर्थ मन्त्रालय सहयोग गर्न सधैं तयार रहेको अर्थमन्त्री पौडेलको भनाइ थियो ।
महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरूमा अवलोकनकर्ता तथा उपभोक्ताहरूको आकर्षण देखिएको थियो। साढे २ लाख अवलोकनकर्ताका साथै ५ करोड रुपैयाँको कारोबार गर्दै राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ।
प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुइँकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्नालीको अन्नी) सेटमा जौको लड्डु, फापरको मःमः, मार्सीको खीर, चिनोको सेल उपभोक्ताहरूले निकै मन पराएको पाइयो।
यसैगरी राउटे समुदायले बनाएका काठका सामग्रीहरू, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका शृंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको थियो।
कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौं प्राङगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना भइरहेको थियो।
मुलुकभरका झन्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहनेत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने रहेको थियो।
प्रदर्शनीकै अवसरमा बिहीबार महिला उद्यमीहरूका समस्या, चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। साथै शुक्रबार पनि उद्यमको लागि नवीकरणीय उर्जा र स्वदेशी वस्तुको प्रवद्र्धन तथा अर्गानिक सर्टिफिकेसन विषयक छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
समापन समारोहमा मेलामा सहभागी उद्यमीहरूमध्येबाट उत्कृष्ट उद्यमीहरूलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेहरूमा हिमालयन अर्गानिक गार्डेन माडी, चितवन प्रथम, फरेष्ट हेम्प इण्डस्ट्रिज प्रालि बूढानीलकण्ठ काठमाडाैं द्वितीय, तामाङ झोला तथा राडीपाखी उद्योग जुम्ला तृतीय तथा सान्त्वनातर्फ हिमालय अल्लो तथा सूती कपडा उद्योग संंखुवासभा, मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग मुस्ताङ, सेमी घरेलु ढाका उद्यौग धनकुटा, कल्पना बेम्बो हाण्डिक्र्याफ्ट ललितपुर छन्।