काठमाडौं। सहरी विकास मन्त्रालयअन्तर्गत नगर विकास कोषले १५ अर्ब कारोबार गर्न थालेको छ। कोषको ३५औं वार्षिकोत्सवमा बोल्दै कोषका कार्यकारी निर्देश कृष्णप्रसाद सापकोटाले एक करोड २९ लाखको पुँजीमा स्थापना भएको कोषले १५ अर्बको कारोबार गर्न थालेको बताएका हुन्।
विस २०४५ फागुन २ मा स्थापना भएको कोषले मुख्यत खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ। त्यस्तै देशका ९० वटा नगरपालिका र एक सयभन्दा बढी सहरमा काम गर्दै आएको छ। कोषले युरोपियन युनियन, एसियाली विकास बैंक (एडिबी) लगायत विदेशी संघ/संस्थासँग पनि सहकार्य गर्दै आएको छ।
मंगलबार भएको कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक सापकोटाले भने, 'विगतका वर्षदेखि नै कोषको पुनर्संरचना गर्ने भनिए पनि त्यो लक्ष्य अहिलेसम्म पूरा गर्न सकिएको छैन। एक खर्बको पुँजी परिचालन गर्न सक्ने गरी पुनर्संरचना गर्न फाइल तयार गरेका छौं, स्वीकृतिको पर्खाइमा छाैं।'
कार्यक्रममा सहरी विकासमन्त्री विक्रम पाण्डे, सहरी सचिव सुरेस आचार्य, खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, राष्ट्रिय योजना आयोग पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली, सहरी मन्त्रालय सह-सचिवलगायत उपस्थित रहेकाे थियाे।
त्यसअवसरमा मन्त्रालयका सचिव सुरेश आचार्यले लेखेको 'हाम्रो मौलिक सहर, सफा पार्ने सन्ततिको रहर' गीत सार्वजनिक गरिएकाे छ। कोषले वार्षिकाेत्सवका अवसरमा इलाम नगरपालिका र बेलबारी नगरपालिकालाई वर्षको उत्कृष्ट घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको छ। खानेपानी आयोजनातर्फ अत्तरिया खानेपानी उपभोक्ता र दमक खानेपानी उपभोक्ता संस्थालाई सम्मान गरेको छ।