काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन्।
मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित ‘राजस्वको अवस्था र चुहावट नियन्त्रण’ सम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले राजस्वको दायरा बढाउन र चुहावट नियन्त्रण कार्यलाई एकैसाथ अगाडि बढाउन निर्देशन दिएका हुन्।
‘नीतिगत सुधारको प्रयत्नबाट यी काम अगाडि बढाउन सकिन्छन्,’ उनले भने, ‘चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्छ।’
‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचक सकारात्मक हुँदै गएका देखिए। गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो। तर, यसको अर्थ नेपाली अर्थतन्त्र संकटमुक्त भइसक्यो भन्ने होइन,’ प्रधानमन्त्री दाहालले भने, ‘राजस्व संकलनमा अहिले पनि केही समस्या छन्।’
चुहावट भन्सारमा मात्र छैन, राजस्व संकलनका अन्य क्षेत्रमा पनि समस्या भएकाे बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘यसको दायरा बढाउनुको अर्थ प्रभावकारिता बढाउनु पनि हो। समन्वयात्मक ढंगले अगाडि बढ्दा परिस्थिति बदल्न सकिन्छ।’
राजस्व प्रशासन र नियन्त्रणका क्षेत्रमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्छ भन्दै उनले प्रविधिको प्रयोग ठीक ढंगले नगरी चुहावट नियन्त्रण र सुरक्षा प्रबन्ध प्रभावकारी हुन नसक्ने बताए।
‘राजस्व छली गर्ने ठूलो शक्तिलाई नछुने तर सानालाई मात्र छुन्छन् भन्ने आम गुनासो छ। तसर्थ, अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न विशेष जोड गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘ठूला बदमासी नियन्त्रण गरेपछि साना बदमासी क्रमशः न्यूनीकरण हुन्छन्। तपाईहरूले देश र अर्थतन्त्रको हितमा कदम चाल्नुस्। राज्य निरिह छैन, गलत काम गर्ने कसैलाई पनि छोड्दैन भन्ने सन्देश दिनुस्।’