यही जेठ ३ गते सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भयो । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी २५ गते अस्पतालबाट डिस्चार्ज भएर सिन्धुपाल्चोक गएकी थिइन् ।
तर, स्वास्थ्यमा समस्या देखिएपछि नजिकैको स्वास्थ्य चौकीमा पुर्याइयो। त्यहाँ र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्दा कोरोना नेगेटिभ देखायो। तर, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले उनलाई धुलिखेल अस्पताल ल्याइयो।
त्यहाँ पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आयो। तर, रिपोर्ट आउँदासम्म उनको मृत्यु भइसकेको थियो ।
जेठ २३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्खेतमा एक २८ वर्षिय युवकको कोरोनाका कारण मृत्यु भएको घोषणा गर्यो ।
भारतबाट आएका ती युवक १४ दिन क्वारेन्टिनमा बसेर आरडीटी परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि घर पठाइएका थिए। तर, घर पुगेपछि उनको मृत्यु भयो । मृत्युपछि पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आयो।
यी दुई प्रतिनिधि ‘केस’ मात्रै हुन्। आरडीटी परीक्षणमा नेगेटिभ देखिएर पीसीआरमा पोजेटिभ देखिएका केस थुपै छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यता प्राप्त नगरेका आरडीटी किट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धमाधम खरिद गरिरहेकोमा जानकारहरु चिन्ता र आश्चर्य व्यक्त गर्छन्। विज्ञहरुको सुझाव लत्याउँदै मन्त्रालयले धमाधम आरडीटी किट खरिद गरिरहेको छ ।
सरकारले यसअघि नै पटक–पटक गरी करिब ३ लाख आरडीटी किट खरिद गरिसकेको छ । थप १ लाख ५० हजार थान खरिदको लागि प्रक्रिया सुरु गरिसकेको छ ।
‘आरडीटीको काम छैन, पैसा खेर नफालौं’
भारतबाट ठूलो संख्यामा मानिसहरु भित्रिरहेको र क्वारेन्टिनमा पनि ठूलो संख्यामा मानिसहरु रहेकाले उनीहरुलाई आरडीटी किटबाट कोरोना परीक्षण गरी घर पठाउन किट खरिद गर्न लागिएको बताइएको छ।
मन्त्रालयले पहिलोपटक ओम्नी समूहले ल्याएको ७५ हजार थान आरडीटी किट खरिद गरेको थियो। आरडीटी किटको प्रयोगको विषयमा विवाद बढेपछि सरकारले किटको प्रभावकारिताका विषयमा अध्ययन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई जिम्मा दिएको थियो। परिषदको रिपोर्ट नआउन्जेल आरडीटी किटको प्रयोग नगर्ने मन्त्रालयले बताएको थियो ।
आरडीटी किटले कोरोना संक्रमणको यकिन रिपोर्ट नदिने निष्कर्ष निकाले पनि मन्त्रालयले थप किट खरिद गरिरहेको छ। परिषदको अध्ययन प्रतिवेदन सार्वजनिक पनि भएको छैन।
किट परीक्षणको लागि परिषदले २०० नमुना लिएर अनुसन्धान गरेको थियो । १९६ जना नेगेटिभ र ४ वटा पोजेटिभ केसमा गरिएको अनुसन्धानमा १९६ वटा नेगेटिभ केसलाई आरडीटी र पीसीआर दुवैले नेगेटिभ नै देखाएको थियो भने ४ वटा पोजेटिभ केसमध्येमा आरडीटी किटले २ वटा केसमात्रै पोजेटिभ देखाएको थियो। २ वटा पोजेटिभ केसलाई भने नेगेटिभ देखाएको थियो । आरडीटी किटको विश्वसनियता ५० प्रतिशतमात्रै रहेको परिषदको निष्कर्ष छ ।
परिषदका एक उच्च अधिकारीले भने, ‘कोभिड निदानको लागि आरडीटी किट कुनै हालतमा प्रयोगमा ल्याउनु हुँदैन। मास स्क्रिनिङका लागि र अध्ययनका लागि आरडीटी प्रयोग गरिए पनि कोभिड निदानको लागि यो किट उपयुक्त छैन।’ उनका अनुसार सरकारलाई बुझाइएको रिपोर्टमा आरडीटीलाई प्राथमिकता नदिन सिफारिस गरिएको छ ।
‘यदि परिषदको प्रतिवेदन पर्खनु थिएन भने किन अनुसन्धान गर्न लगाइयो ?’ परिषदले रिपोर्ट बुझाउनुअघि नै मन्त्रालयले थप आरडीटी खरिदको प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भने।
अहिलेसम्म सरकारले ७५ हजार ओम्नी समूहबाट र अन्य २ लाख २५ हजार किट किनेर परीक्षण गरिरहेको छ । अझै त्यसको मात्रा कम भएको भन्दै १ लाख ५० हजार खरिद प्रक्रिया अगाडि बढाएको छ ।
विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडीटी किटमा विश्वका धेरै देशहरुले रोक लगाएका बेला नेपालले भने थप खरिदको लागि प्रक्रिया सुरु गरेकोमा विज्ञहरुले आपत्ति जनाउँदै आएका छन् । सरकारले निजी अस्पताललार्ई पनि आरडीटीमार्फत् कोरोना जाँच गर्न दिने तयारी गरिरहेको छ। यसले झनै ठूलो समस्या निम्तने विज्ञहरु बताउँछन्।
गुणस्तर र प्रभावकारितामा पटकपटक प्रश्न उठिरहेको आरडीटी किट किन्ने विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि सकारात्मक राय दिएको थिएन। तर प्रयोगशालाले प्रमाणित गर्न नमानेपछि मन्त्रालयका अधिकारीहरुले सिधैं मन्त्रिपरिषदमा लगेर किट प्रयोग गर्ने निर्णय गराएको स्रोतले बताएको छ ।