काठमाडाैं। चालू आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ। भन्सार विभागले मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार आयातसँगै निर्यात पनि घटेकाे हो।
तथ्यांकअनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालू आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो। गत आवको पुससम्म नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाख रूपैयाँको वस्तु आयात भएकोमा चालू आवको सोही अवधिमारू सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रूपैयाँको आयात भएको हो।
साथै गत आवको पुससम्म एक खर्ब १८ अर्ब ८५ करोड रूपैयाँको वस्तुको निर्यात भएकोमा चालू आवको सोही अवधिमा जम्मा ८० अर्ब ८० करोड ७४ लाख रूपैयाँको निर्यात भएको हो। तथ्यांकअनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ।
सात खर्बको व्यापारघाटा
चालू आर्थिक वर्षकाे छ महिनामा व्यापारघाटा सात खर्ब रूपैयँभन्दा माथि पुगेको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापारघाटा सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख रूपैयाँ पुगेको छ।
समीक्षा अवधिमा नेपालले आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ। गत आवमा आठ खर्ब ८० अर्ब रूपैयाँ बढीको व्यापारघाटा हुँदा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रूपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको थियो। विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव १५ प्रतिशतले घटेको छ।
तथ्यांकअनुसार छ महिनामा नेपालले छिमेकीमूलुक भारतसँग मात्र चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार रूपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ। उक्त अवधिमा नेपालले भारतबाट चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख रूपैयाँ बढीको आयात गरेको छ भने ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार रूपैयाँको निर्यात गरेको छ।
आयात प्रतिबन्धको असर राजस्वमा
सरकारले सवारीसाधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ। गत आवको छ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार रूपैयाँ बराबर राजस्व संकलनमा कमी आएको छ। गत आर्थिक वर्षको छ महिनामा दुई खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन गरेकोमा चालू आवमा सोही अवधिमा एक खर्ब ८२ अर्ब ८४ करोड रूपैयाँ बराबर राजस्व संकलन भएको हो।
सरकारले सबै प्रकारका मदिरा, एक सय ५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, तीन सय डलरभन्दा माथिको मोबाइल र सवारी साधन आयातमा प्रतिबन्ध हटाइसकेको छ। विभागका अनुसार छ महिनामा नेपालले विभिन्न देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रूपैयाँ बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो। तर, मंसिरमा एक खर्ब ३२ अर्ब रूपैयाँबराबरको विदेशी वस्तुको आयात भएकोमा पुसमा एक खर्ब २७ अर्ब रूपैयाँ बराबरको मात्रै आयात थपिएको हो।
एक सय ४८ देशबाट आयात
विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको तथ्यांकअनुसार नेपालमा विभिन्न एक सय ४८ देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ। तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। छ महिनाको अवधिमा नेपालले भारतबाट मात्रै चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख रूपैयाँ बढीको आयात भएको छ।
कूल चार खर्ब रूपैयाँ बढीको आयात हुँदा ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार रूपैयाँ बराबरको मात्रै निर्यात गरेको छ। नेपालले भारतसँग मात्रै चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार रूपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ। भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। छ महिनाको अवधिमा चीनबाट एक खर्ब नौ अर्ब ९७ करोड ८७ लाख रूपैयाँ बराबरको आयात भएको छ भने ३४ करोड ११ लाख रूपैयाँ मात्र निर्यात भएको छ। चीनसँग मात्र एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख रूपैयाँ बराबरको व्यापारघाटा भएको छ। रासस