काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०७९ को समानुपातिक सूचीमा रहेका डा. मिनबहादुर श्रेष्ठलाई राष्ट्रिय योजना आयोगको जिम्मेवारी दिइएको छ।
सामान्यतया सूचीबाट नहटाई नयाँ नियुक्ति गर्न पाइँदैन। तर, निर्वाचन आयोगले श्रेष्ठका नाम नेकपा (माओवादी केन्द्र) को समानुपातिक सांसदको बन्द सूचीबाट नहटेको जनाएको छ। आयोगले बन्द सूचीबाट हटाउने विषयमा पनि कुनै आवेदन नपरेको उल्लेख गरेको छ। सरकारले मन्त्रिस्तरको हैसियत दिएर श्रेष्ठलाई योजना आयोगमा लगेको हो।

म्याग्दीका श्रेष्ठको बन्द सूचीमा भने काठमाडौं उल्लेख छ। विगतमा पनि समानुपातिक सूचीमा रहेकालाई त्यहाँबाट नहटाइ सार्वजनिक नियुक्ति दिन नमिल्ने नजिर रहेको आयोगका कानुनका सहसचिव गुरुप्रसाद वाग्लेले जानकारी दिए।
२०७४ मा जनता समाजवादी पार्टी (जसपा) को समानुपातिकतर्फको बन्द सूचीमा रहेका नवराज सुवेदीलाई साउदी अरबको राजदूत बनाउँदा उनलाई सूचीबाट हटाएरमात्रै नियुक्ति प्रक्रिया अघि बढाइएको थियो। श्रेष्ठका हकमा भने अहिलेसम्म आयोगमा कुनै आवेदन नआएको र सूचीमा उनको नाम कायमै रहेको आयोगले जनाएको छ। उम्मेदवार हुँदा नै कुनै पनि सरकारी नियुक्ति लिएको हुन नहुने व्यवस्था छ। कसरी श्रेष्ठ समानुपातिक सूचीमा हुँदाहुँदै नियुक्ति पाए भन्ने प्रश्न उठेको छ।
प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले याे विषय निर्वाचन आयोगको क्षेत्राधिकारभित्र पर्ने बताए। ‘आयोगले भनेअनुसार हामीले गर्ने हो,’ उनले भने, ‘तत्काल हाम्रो कुनै भूमिका हुँदैन।’
आयोगका सहसचिव वाग्लेका अनुसार समानुपातिक सूचीमा रहेका व्यक्तिहरू सरकारबाट नियुक्ति हुने, कुनै पदमा जाने वा लैजाने हो भने समानुपातिक सूचीबाट नाम हटाउनुपर्छ।
‘समानपातिक बन्द सूचीमा नाम रहने बित्तिकै त्यो उम्मेदवार हुनेछ। प्रतिनिधिसभाको समानुपातिक सूचीमा नाम भएको व्यक्ति प्रदेशको उम्मदेवार हुन पाउँदैन। प्रदेशको छ भने प्रतिनिधिको पनि हुन पाउँदैन। साथै स्थानीयमा पनि हुन पाउँदैन। यसबाट के बुझिन्छ भने सो व्यक्ति उम्मेदवारका रूपमा रहिरहन्छ,’ वाग्लेले भने।
वाग्लेले नवराज सुवेदी राजदूत हुनुभन्दा अगाडि जसपाको समानुपातिक बन्द सूचीबाट नाम हटाएकाे उदारहणसमेत दिए। प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा पनि समानुपातिक प्रावधानमा नै यो उल्लेख भएको उनको भनाइ छ।
समानुपातिकबाट नाम हटाएपछि त्याे मानिस स्वतन्त्र हुन्छ। त्यसपछि नियुक्त गर्न सकिने आयोगको भनाइ छ। कुनै पनि व्यक्तिको समानुपातिक सूचीमा नाम हुनु भनेको त्यो दलको उम्मेदवार हो।