काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले अर्थशास्त्रको सामान्य ज्ञान पनि नभएको भन्दै अर्थ मन्त्रालयका कर्मचारीमाथि आक्रोस पोखेका छन्।
आइजिपी राजु अर्यालले अर्थका कर्मचारीलाई पढाउने शैलीमै बुधबार भने– ‘सामान्य ज्ञान भएका व्यक्तिले पनि अहिलेको परिस्थितिमा ३१ प्रतिशत राजस्व वृद्धिको लक्ष्य राख्दैन।’
आयातमुखी अर्थतन्त्र र आयातमा आधारित राजस्व संकलन हुने मुलुकमा मुख्य वस्तु आयातमै प्रतिबन्ध लगाइएका बेला उच्च दरको राजस्व वृद्धि लक्ष्य राखेको भन्दै कर्मचारीमाथि आक्रोस पोखेका हुन्।
बुधबार राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा आइजिपी अर्यालले के आधारमा अहिलेको राजस्व वृद्धि लक्ष्य राख्नुभएको हो? र, त्यो लक्ष्य कसरी पूरा गर्नुहुन्छ भन्दै कर्मचारीलाई उल्टै प्रतिप्रश्न गरे।
कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व लक्ष्य पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका थिए। त्यसबेला अर्थमन्त्री पौडेलभन्दा अघि नै बोलेका सशस्त्र आइजिपी अर्यालले राजस्व प्रशासनले विश्वपरिवेश र अर्थतन्त्रको संरचना नै नबुझी राजस्व लक्ष्य राख्ने गर्दा हरेक वर्ष समस्या हुने गरेको बताए।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उच्च आर्थिक वृद्धि लक्ष्य पूरा गर्न र त्यसका लागि आवश्यक खर्च तथा स्रोत व्यवस्थापन गर्न उच्च दरको राजस्व लक्ष्य निर्धारण गरेका थिए।
जतिबेला हालका अर्थसचिव कृष्णहरि पुष्कर राजस्व सचिव थिए। तत्कालीन अर्थसचिव मधुकुमार मरासिनी, अर्थमन्त्री शर्माले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको विषयमा विवादित भएसँगै त्यहाँबाट बाहिरिएका थिए।
आइजिपी अर्यालले अर्थतन्त्रका विषयमा मन्त्रालयका कर्मचारीलाई पढाइरहँदा उनको तालुकदार गृह मन्त्रालयका मन्त्री रवि लामिछाने पनि सँगै थिए। ‘एकातिर आयात प्रतिबन्ध गर्ने र अर्कातिर राजस्व पुगेन भनेर छलफल गर्ने? कतै–कतै नमिलेजस्तो लाग्यो,’ उनले भने, ‘सामान्य बेला त राजस्व लक्ष्य नपुग्ने अवस्थामा यस्तो परिस्थिति झन् असम्भव देखिन्छ।’
अर्यालले हाल जति राजस्व लक्ष्य पुगेको छैन, त्यो सबै चुहावट भएरमात्रै हो त भन्ने प्रश्न गर्दै बैठकमा उपस्थित अर्थका अधिकारीलाई सोधे, ‘अहिले नपुगेको राजस्वमध्ये कति प्रतिशत चुहावटको हिस्सा हो?’
सरकारले राजस्व लक्ष्य पनि बढी लिएकाले लक्ष्य भेट्न मुस्किल भएको अर्यालले बताए। ‘अहिलेको अवस्थामा जसरी राजस्व लक्ष्य निर्धारण गरियो, त्यो नै मिलेको थिएन,’ अर्यालले भने।
अर्यालले अर्थशास्त्रको पाठ पढाइरहँदा बैठकमा उपस्थित अर्थ मन्त्रालयका अधिकारीहरू मुखामुख गरिरहेका थिए।